विराटनगरले जनकपुरलाई दियो १३६ रनको लक्ष्य

सोमबार, ०८ मंसिर २०८२

काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को नवौं खेलमा विराटनगर किंग्सले साविक विजेता जनकपुर बोल्ट्सलाई सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १३५ रन जोडेको हो ।

विराटनगरको पारीमा कुनै पनि ब्याट्सम्यानले ठूलो स्कोर बनाउन नसके पनि मध्यक्रमका शुभम रञ्जने र बसिर अहमदले जुझारु पारी खेल्दै टोलीलाई सम्मानजनक योगफलतर्फ डोर्याए । शुभम रञ्जनेले २९ बलमा २ चौका र २ छक्काको मद्दतले ३७ रन बनाए भने बसिर अहमदले ३५ बलमा ३ छक्का प्रहार गर्दै ३६ रनको योगदान दिए।

ओपनर मार्टिन गुप्टिल १३ रन र जर्ज मुन्से १० रनमा चाँडै आउट भएपछि दबाबमा आएको विराटनगरको पारीलाई लोकेश बमले २८ रन बनाएर केही हदसम्म सम्हालेका थिए।

जनकपुर बोल्ट्सका लागि बलर सङ्गीत कूरयले उत्कृष्ट प्रदर्शन गरे। उनले ४ ओभरमा मात्र २६ रन खर्चेर महत्त्वपूर्ण २ विकेट लिए। त्यस्तै, रुपेश सिंहले पनि २ विकेट हात पारे।

अनिल साहकाे कप्तानीमा रहेको जनकपुर पहिलो खेलमै काठमाडौँ गोर्खाजसँग ५ विकेटले पराजित भएको थियो । उपाधि दावेदारी प्रस्तुत गर्न जनकपुरलाई विराटनगरविरुद्ध पुनरागमन गर्दै लय समाउने चुनौती छ । यता सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर लगातार तेस्रो खेल जित्ने लक्ष्यमा छ । विराटनगरले यसअघि पहिलो खेलमा पोखरा एभेन्जर्स र दोस्रो खेलमा काठमाडौंँविरुद्ध जित दर्ता गरेको थियो । यी दुईबीच गत संस्करण उद्घाटन खेलमा भएको भेटमा जनकपुरले ८ विकेटको सहज जित निकालेको थियो । आज उक्त बदला लिने सोचमा विराटनगरको रहने छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार