किसानलाई बाली जोगाउने चिन्ता

सोमबार, ०८ मंसिर २०८२

रुपन्देही  । हरेक वर्षझैँ यस वर्ष पनि किसानको उस्तै पीडा, चिन्ता र सङ्घर्ष छ । गहुँको बीउ छर्न मल अभावले किसान चिन्तित छन् । अर्कोतर्फ बेमौसमी वर्षाका कारण पानीमा डुबेर नष्ट भएको धानबाली निकाल्नै कठिन छ । कृषि पेसामा आत्मनिर्भर बन्ने सपना बोकेका किसानको दैनिकी भागदौड, चिन्ता र निराशाले भरिएको छ ।

अहिले धानबाली भित्र्याउने बेला हिउँदे बाली लगाउन किसान चटारोमा छन् । कोही मल नपाएर बीउ खेतमा छर्न सकिरहेका छैनन् भने कोही धानबाली नै निकाल्न नसकेर चिन्तित छन् । कृषि कर्मको प्राण नै मल–बीउ भएको ठान्ने किसानका लागि यतिबेला सबैभन्दा ठूलो चुनौती मल–बीउ नै भइरहेको छ ।

रुपन्देहीको मर्चवारी गाउँपालिका–२ का सुमेर यादव यतिबेला गहुँ र दलहनको खेती तयारीमै व्यस्त छन् । तर, मल–बीउ ल्याउन नपाए खेतीपाती नै अधुरो हुने उनलाई चिन्ता छ । यादव भन्छन्, “सरकारले समयमा पर्याप्त मल–बीउ उपलब्ध गराउन सकेको छैन । मलका लागि छिमेकी मुलुक भारतकै भर पर्नुपर्छ । कहिले मल सहजै ल्याउन पाइन्छ । तर, बेलाबखत सुरक्षाकर्मीको गाली खानुपर्छ । किसान भएकै कारण हामीलाई धेरै पीडा सहनुपरेको छ ।”

कोटहीमाई गाउँपालिका–७ का दिनेश लोधको समस्या पनि उस्तै छ । सहकारी संस्थामा मल आएको खबर सुन्नासाथ बिहान सबेरै दौडनु, लाइनमा बस्नु र नपाए फर्केर फेरि भारतीय बजार धाउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।

“सहकारीमा बिहानै लाइन बसिएन भने मल पाइँदैन । त्यहाँ नपाए सीमावर्ती भारतीय बजार धाउनुपर्छ”, उनले भने, “मल बिना खेती गर्न सकिन्न ।”

सम्मरीमाई गाउँपालिका–७ का साहुल हरिजनको पीडा भने भिन्न छ । बेमौसमी वर्षाले डुबानमा परेको खेतबाट धानबाली निकाल्न चुनौती रहेको उनी बताउँछन् । हरिजनका अनुसार पानीको उचित निकास नहुँदा धेरैजसो धानबाली खेतमै नष्ट भइसकेको छ । बचेका बोट–बिरुवा उठाएर सुकाउने काममै उनी व्यस्त छन् ।

“हाम्रो खेतमा बर्सेनि पानी जमेर बाली नष्ट हुन्छ । कुलो–नाला व्यवस्था भए हामी जोगिन सक्थ्यौँ । किसानको पीडा बुझ्ने समय कहिले आउँला ?” उहाँले प्रश्न गर्नुभयो । यी समस्या केवल रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारको मात्र होइनन्, तराई–मधेसका किसान बर्सेनि मल–बीउको अभाव, उचित बजार मूल्य नपाउनु, मल पाउन सास्ती र बेमौसमी वर्षाबाट धानबालीमा क्षतिलगायतका समस्या झेलिरहेका छन् ।

खेतमा पसिनै बगाएर आफ्नो र परिवारको गुजारा चलाउने आफूहरुको पीडा कसैले गम्भीर रूपमा नलिएसम्म कृषिबाट समृद्धिको सपना केवल कागजमै सीमित हुने किसान बताउँछन् । कोटहीमाई गाउँपालिकामा रहेका १८ सहकारीमार्फत मल वितरण भइरहे पनि किसानले आफ्नो आवश्यकताअनुसार भने पाउन सकेका छैनन् ।

रुपन्देहीमा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड प्रादेशिक कार्यालय भैरहवामार्फत मल वितरण भइरहेका छ । तर मागअनुसार र समयमा मल नपाउँदा किसान मर्कामा पर्दै आएका छन् । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार