अहिले एमालेभित्र ओली र भण्डारीको नाममा गुट छः योगेश भट्टराई

सोमबार, ०८ मंसिर २०८२
तस्बिर : फाइल

काठमाडौं  । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले अहिले एमालेभित्र पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको नाममा गुटको अभ्यास रहेको बताएका छन् । 

नेता भट्टराईले पूर्व राष्ट्रपति भण्डारीसँग आफूहरुको सहकार्य नै रहेको बताए । आफूहरुलाई पूर्व राष्ट्रपति भण्डारीको नैतिक समर्थन रहेको नेता भट्टराईले बताए । भण्डारीलाई राजनीतिमा फर्किन नदिन एमालेले लगाएको अड्को र तगारो सही नभएको उनको बुझाइ छ । त्यसकारले आफूले सचिवालय बैठकमा अध्यक्ष ओलीलाई पूर्व राष्ट्रपति भण्डारीको विषयलाई सम्बोधन गर्न भनेको पनि सुनाए ।

‘उहाँ (ओली) ले पार्टीभित्रको गुटबन्दीप्रति चिन्ता व्यक्त गर्नुभयो । मैले भने– कमरेड अध्यक्ष तपाईँको चिन्ताप्रति म सम्मान गर्छु । पार्टीभित्र गुटबन्दी छ । यो गुटबन्दी तपाईँ अन्त्य गर्नुहुन्छ भने पूर्व राष्ट्रपति विद्या भण्डारीको केसलाई सम्बोधन गर्नुस् । आज एमालेभित्र कुनै गुट छ भने केपी ओलीको नाममा छ, विद्या भण्डारीको नाममा छ । मेरो नाममा छैन, म ती गुटमध्ये कहीँ हुँला,’– नेता भट्टराईले भने ।

भण्डारीलाई पार्टीभित्र आउन नदिने काम गलत भयो भनेर नै आफू उनको पक्षमा उभिएको नेता भट्टराईले बताए । ‘उहाँले हामीलाई नैतिक समर्थन गर्नुभएको छ । त्यसकारण मैले अध्यक्षलाई भनेँ– कमरेड अध्यक्ष जबसम्म तपाईँले विद्या भण्डारीको सम्मानजनक इन्ट्री पार्टीमा गर्नुहुन्न, तबसम्म हामीलाई निकाल्नुस्, त्यसपछि तपाईँकै गुटबाट अर्को गुट जन्मिन्छ,’– उनले भने ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार