राष्ट्रिय सौन्दर्यकर्मी युनियन इटहरीको अध्यक्षमा निशा पौडेल चयन

शनिबार, १० माघ २०८२

इटहरी । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल इटहरी उपमहानगर कमिटीको दोस्रो अधिवेशन बुधबार इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा सम्पन्न भएको छ। २०८२ माघ ७ गते सम्पन्न अधिवेशनले निशा पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

तत्कालीन अध्यक्ष पूजा भट्टराईको अध्यक्षतामा सम्पन्न अधिवेशनमा प्रमुख अतिथिका रूपमा सुजना जोशी सहभागी थिइन्। कार्यक्रमको सञ्चालन इटहरी उपमहानगर कमिटीकी सचिव निशा पौडेलले गरेकी थिइन्। अधिवेशनमा अध्यक्ष पूजा भट्टराईले आफ्नो कार्यकालमा सहयोग गर्ने सम्पूर्ण सदस्यहरूलाई धन्यवाद दिँदै सौन्दर्यकर्मीहरूको हक, अधिकार र पेशागत मर्यादाका लागि युनियनले निर्वाह गरेको भूमिकाको चर्चा गरिन्।

कार्यक्रममा बोल्दै मायाघर नेपालकी अध्यक्ष सुभद्रा प्याकुरेलले राष्ट्रिय सौन्दर्यकर्मी युनियन व्यवसायिक हितसँगै सामाजिक उत्तरदायित्वमा पनि सक्रिय रहेको बताइन्। उनले महिला सशक्तीकरण, सामाजिक सेवा तथा मानवीय सहयोगका क्षेत्रमा युनियनको योगदान उल्लेखनीय रहेको उल्लेख गरिन्।

अधिवेशनमा केन्द्रीय प्रतिनिधि परिषद् उपप्रमुख गंगा तामाङ, केन्द्रीय महासचिव ममता प्रधान, प्रदेश अध्यक्ष कलाडाँगी, प्रदेश सचिव अमिता पौडेल, इटहरी उपमहानगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष जितेन्द्र थापा, सामाजिक अभियन्ता प्रतिक्षा प्राप्ति अधिकारी, इटहरी लेडिजकी अध्यक्ष यमुना बुढाथोकी, निवर्तमान अध्यक्ष लक्ष्मी बराल, योग प्रशिक्षक सूर्य गिरीलगायत विभिन्न सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा सञ्चार माध्यममार्फत समाजमा सकारात्मक योगदान पुर्‍याएको भन्दै विराट टेलिभिजनका प्रबन्ध निर्देशक विकल पौडेल र प्रदेश खबर अनलाइनका सञ्चालक पवन अधिकारीलाई सम्मान गरिएको थियो।

नवनिर्वाचित अध्यक्ष निशा पौडेलले सौन्दर्यकर्मीहरूलाई सम्मानित, सुरक्षित र संगठित बनाउने उद्देश्यसहित पेशागत हकहित, सीप विकास, रोजगार सुरक्षा र सामाजिक उत्तरदायित्वलाई सँगसँगै अघि बढाउने प्रतिबद्धता व्यक्त गरिन्।

नव–निर्वाचित कार्यसमितिमा उपाध्यक्ष चन्दा थापा, सचिव बिनिता राई, सह–सचिव जिना श्रेष्ठ र कोषाध्यक्ष एलिना डागी चयन भएका छन्। सदस्यहरूमा मिना थापा, कल्पना पोखरेल, रोजिना कार्की, संगीता श्रेष्ठ, प्रतिमा पौडेल र सम्झना थापा रहेका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार