रामेछाप । जेनजी आन्दोलनका क्रममा जिल्लाभर भएका आगजनी र तोडफोड प्रकरणमा संलग्न १५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीले पत्रकार सम्मेलन गरी घटनामा संलग्न आरोपितको नाम सार्वजनिक गर्दै उनीहरू विरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जनाएको हो ।
गत भदौ २३ र २४ गते सिन्धुलीका विभिन्न सरकारी कार्यालय, राजनीतिक दलका कार्यालय र निजी सम्पत्तिलाई लक्षित गर्दै तोडफोड तथा आगजनी गरिएका थिए ।
प्रहरीका अनुसार आन्दोलनका क्रममा जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, मालपोत कार्यालय, करदाता सेवा कार्यालय, कमलामाई नगरपालिका–५ को वडा कार्यालयसहित राजनीतिक दलका कार्यालय तथा निजी घरमा ठुलो क्षति पुगेको थियो ।
प्रहरी उपरीक्षक (एसपी) लालध्वज सुवेदीका अनुसार प्रत्यक्ष संलग्न व्यक्तिहरूको पहिचान सामाजिक सञ्जालमा आएका भिडियो तथा सिसी टिभी फुटेजका आधारमा गरिएको हो ।
‘पहिलो चरणमा चार प्रमुख सरकारी कार्यालयमा भएको तोडफोड र आगजनीका कर्ताको विस्तृत अनुसन्धान भइरहेको छ, थप संलग्नको पहिचान गर्ने काम निरन्तर छ’, उनले भने ।
उनका अनुसार हालसम्म २१ जनालाई पक्राउ गरिएको छ भने १० जनाको नाममा पक्राउ पुर्जी जारी गरिएको छ ।
प्रहरीले अनुसन्धान तीव्र बनाएपछि सो आगजनी र तोडफोडको नेतृत्व गर्नेहरू जिल्ला छोडेर भागेका छन् ।
अधिकांश पक्राउ परेकामाथि जिल्ला अदालतमा भएको आगजनीका कसुरमा मुद्दा दर्ता गरिएको उनले जानकारी दिए।
पक्राउ परेकाहरूको विवरण
– सुजन साह (२०), कमलामाई–६
– रत्नबहादुर श्रेष्ठ (३६), कमलामाई–६
– फौद थापा मगर (४७), कमलामाई–५
– सुजन गौतम (३०), तीनपाटन–४
– पप्पु कुमार साह (२५), रामनगर–६, सर्लाही
– रबन चौधरी (२७), कमलामाई–५
– क्षितिज श्रेष्ठ (३१), कमलामाई–१२
– सविन लामा (२४), कमलामाई–४
– राजु महरा, गौशाला–२, महोत्तरी
– देवनन्दन साह (२२), सितामढी, भारत — हाल कमलामाई–६
– डोरबहादुर सार्की (२३), कमलामाई–१२
– होमबहादुर लुङ्गेली (२५), तीनपाटन–११
– ओमबहादुर खत्री (३४), कमलामाई–८
– कमल पाख्रिन (३०), मरिण–८
– हरिचन सोनार (३५), बर्दिबास–१४, महोत्तरी
उनीहरूलाई जिल्ला अदालतबाट म्याद थप गर्दै ‘आपराधिक उपद्रव तथा आगजनी’ सम्बन्धी मुद्दामा थुनुवा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
१२ करोड ६९ लाखभन्दा बढीको भौतिक क्षति
आन्दोलनका क्रममा भएको क्षतिको प्रारम्भिक विवरण सार्वजनिक गर्दै प्रहरीले करिब १२ करोड ६९ लाख रुपैयाँ बराबरको सरकारी तथा निजी सम्पत्तिमा क्षति पुगेको जनाएको छ। सरकारी कार्यालयहरूले उजुरी दर्ता गराए पनि निजी क्षेत्रबाट भने हालसम्म कुनै जाहेरी परेको छैन ।
सबैभन्दा बढी क्षति जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय र कमलामाई नगरपालिकामा पुगेको प्रहरीले जनाएको छ ।
अदालतका सूचना अधिकारी डेढकुमार ढकालका अनुसार अदालत परिसरमा आगजनी हुँदा मुद्दाका मिसिल, कम्प्युटर, प्रिन्टर, फाइलदेखि इजलास कक्षका सामग्रीलगायत सबै भौतिक संरचना जलेर नष्ट भएका छन् ।
१५ सवारीसाधनमा क्षति
आन्दोलनकै क्रममा १५ वटा सरकारी तथा निजी सवारीसाधनमा क्षति पुगेको छ। तीमध्ये ९ वटा चारपाङ्ग्रे, ५ वटा मोटरसाइकल र १ स्कुटर पूर्ण रूपमा जलेर वा तोडफोड भएर प्रयोग अयोग्य बनेका छन् ।
अहिलेसम्म मर्मत सुरु हुन सकेन
आन्दोलनमा जलेर नष्ट भएका अधिकांश कार्यालयहरू अझै मर्मत–सम्भार हुन नसकेका छन् । प्रहरीका अनुसार भीडभाडमा उक्साहटपूर्ण गतिविधि र योजनाबद्ध तोडफोडका कारण सार्वजनिक सम्पत्तिमा ठुलो क्षति भएको छ । घटनमा संलग्न सबैलाई कानुनको दायरमा ल्याउने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया