झापा–५ मा रास्वपा वरिष्ठ नेता बालेन शाहको घरदैलो अभियान तीव्र (तस्बिरहरु)

सोमबार, २६ माघ २०८२

झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले झापा क्षेत्र नम्बर ५ मा मतदाता भेटघाट तथा घरदैलो अभियानलाई तीव्र बनाएका छन् । स्थानीय तहमा प्रत्यक्ष संवादमार्फत मतदाताको विश्वास जित्ने उद्देश्यसहित बालेनको अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाइएको रास्वपाको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार आज झापा क्षेत्र नं  ५ अन्तर्गत कमल गाउँपालिकाका विभिन्न स्थानमा नागरिक भेटघाट (घरदैलो) कार्यक्रम तय गरिएको छ । बिहानदेखि साँझसम्म सञ्चालन हुने कार्यक्रममा बालेन शाह स्वयं सहभागी भई स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्नेछन् ।

निर्धारित कार्यक्रमअनुसार बिहान ७ः३० बजे सानो केर्खा चोकबाट अभियान सुरु हुनेछ । त्यसपछि क्रमशः सिंहदेवी मन्दिर, केर्खा बजार, केराधाप, क्याम्पा, सुनहरा उराउ र संथाल बस्ती, ढ्याङ्री, शरंग्पडा बजार, बाह्रबिघा मन्दिर, नहरचोक, शान्ति चोक, सुकुमबासी बस्ती, समैगड, छलफल चोक हुँदै भुत्लुङ स्कुल अगाडिसम्म घरदैलो कार्यक्रम सञ्चालन गरिनेछ ।

WhatsApp Image 2026-02-09 at 11.35.02 AM

रास्वपाले जनस्तरसँग प्रत्यक्ष संवादलाई आफ्नो मुख्य रणनीति बनाएको जनाएको छ । पार्टीका अनुसार यो अभियानमा स्थानीय समस्या, विकासका आवश्यकता, रोजगारी, शिक्षा, स्वास्थ्य, भूमि व्यवस्थापन र सुशासनजस्ता विषयमा नागरिकको धारणा सुन्ने र सुझाव सङ्कलन गर्ने लक्ष्य राखिएको छ ।

पार्टीका नेताहरूका अनुसार परम्परागत चुनावी प्रचारभन्दा फरक ढङ्गले मतदाताको घर आँगनमै पुगेर उनीहरूको आवाज सुन्ने र समाधानको खाका प्रस्तुत गर्ने प्रयास भइरहेको छ । विशेष गरी आदिवासी जनजाति, सुकुमबासी तथा सीमान्तकृत समुदायको बस्तीमा पुगेर उनीहरूको वास्तविक समस्या बुझ्न बालेन शाह केन्द्रित देखिएका छन् ।

झापा–५ मा चुनावी सरगर्मी बढ्दै जाँदा बालेन शाहको सक्रिय घरदैलो अभियानले स्थानीय राजनीतिमा नयाँ उत्साह थपेको देखिन्छ । मतदातासँग प्रत्यक्ष भेटघाटलाई प्राथमिकतामा राखिएको यो अभियानले आगामी चुनावी परिणाममा प्रभाव पार्ने अपेक्षा गरिएको छ । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार