विदेश जाने सपना बेचेर ठगी : वैदेशिक रोजगार विभागमा बिचौलियाको बिगबिगी

आइतबार, २८ मंसिर २०८२

काठमाडौँ : वैदेशिक रोजगार क्षेत्रमा पछिल्लो समय ठगी धन्दा मच्चाउने बिचौलियाको गतिविधि बढ्दै गएको छ । कामको खोजीमा बिदेसिने नेपाली कामदारलाई विभिन्न प्रलोभनमा पारेर रकम ठगी गर्ने बिचौलिया अहिले वैदेशिक रोजगार विभागको काठमाडौँ ताहाचलस्थित कार्यालय परिसरलगायत स्थानमा सक्रिय छन् । बिदेसिने युवालाई प्रलोभनमा पारेर लाखौँ रकम ठगी गर्ने बिचौलियाको ठुलो जालो रहेको जानकारहरू बताउँछन् ।

विभिन्न म्यानपावर कम्पनीमार्फत खाडी तथा अन्य मुलुकमा रोजगारीमा जान लागेका तथा विभिन्न समस्यामा परेर स्वदेश फर्किएका पीडितलाई बिचौलियाले ललाइफकाई जालमा पार्ने र उनीहरूबाट मोटो रकम असुल गर्ने गरेका छन् । राम्रो म्यानपावरबाट आकर्षक तलबमा कम लागतमा विदेश पठाइदिने, श्रम स्वीकृति निकालिदिने, म्यानपावर कम्पनीमा बुझाएको रकम फिर्ता गराइदिने लगायतका झुटा आश्वासन दिएर पीडितलाई थप समस्यामा पार्ने गरिएको छ ।

वैदेशिक रोजगार क्षेत्रमा लामो समयदेखि यस्ता बिचौलियाको समूह सक्रिय रहे पनि त्यसलाई नियन्त्रण गर्न सरकारी निकायको काम–कारबाही प्रभावकारी देखिएको छैन । विभाग परिसरमै बिचौलियाको समूह खुलेआम घुमिरहँदा पनि विभागका कर्मचारी र प्रहरी प्रशासन मूकदर्शक बनेको पीडितहरूको गुनासो छ । केही समयअघि श्रम मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेकी प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक रोजगार क्षेत्रमा ठगी बढेको भन्दै सम्बन्धित निकायलाई छानबिन गरी दोषीलाई कारबाही गर्न निर्देशन दिएकी थिइन् । तर, निर्देशनपछि पनि ठगीका घटना रोकिएका छैनन् ।

दैनिक करिब एक हजार पाँच सय नेपाली युवा कामको खोजीमा विदेश जाने गरेका छन् । विदेश पुगेपछि काम, पारिश्रमिक तथा तोकिएका सेवा–सुविधा नपाएर फर्किएका तथा म्यानपावरबाट ठगीमा परेका सयौँ युवा दैनिक विभागमा उजुरी लिएर पुग्ने गरेका छन् । ती युवालाई नै बिचौलियाले चङ्गुलमा फसाएर ठगी गर्ने गरेको पाइएको छ । विगतमा श्रम स्वीकृति लिन घण्टौँ लाइन बस्नुपर्ने अवस्था भए पनि अहिले अनलाइन प्रणाली लागू भएको छ । तर, त्यसले बिचौलियाको ठगी नियन्त्रण गर्न सकेको छैन ।

विदेशसम्मै बिचौलियाको जालो

स्वदेशमा मात्र नभई नेपाली कामदार कार्यरत विदेशी मुलुकमा समेत बिचौलियाको जालो फैलिएको पाइएको छ । विदेशस्थित नेपाली दूतावास र त्यहाँ कार्यरत कर्मचारीलाई समेत प्रभाव पारेर बिचौलियाले कामदार र वैदेशिक रोजगार व्यवसायीलाई फसाउने गरेका छन् ।

काम र पारिश्रमिक नपाएर विदेशमा अलपत्र परेका तथा स्वदेश फर्कन नसकेका नेपाली युवालाई बिचौलियाले विदेशमै ठग्ने गरेका छन् । केही समूहले नक्कली मागपत्र (डिमान्ड) तयार गरी नेपाली म्यानपावर कम्पनीलाई पठाउने गरेको दूतावासहरूले जानकारी दिएका छन् । यस्ता नक्कली डिमान्ड प्रमाणीकरणका कागजात अनलाइनमार्फत पठाइएकाले मलेसियास्थित नेपाली दूतावासले व्यवसायीलाई सतर्क रहन आग्रह गरेको थियो ।

बिचौलिया रोक्न विभाग सक्रिय : निर्देशक पौडेल

वैदेशिक रोजगार विभागका निर्देशक तथा सूचना अधिकारी उपेन्द्रराज पौडेलले ठगीमा संलग्न बिचौलियालाई नियन्त्रण गर्न विभाग सक्रिय भएको बताए । विगतमा बिचौलियाको बिगबिगीका कारण धेरै व्यक्ति ठगीमा परेको उल्लेख गर्दै उनले अहिले श्रम स्वीकृति अनलाइन प्रणालीबाट भइरहेको र विभाग बिचौलियाविरुद्ध सक्रिय रूपमा लागेको बताए ।

उनका अनुसार न्यायका लागि विभाग आउने सेवाग्राहीलाई छिटो र प्रभावकारी सेवा दिन प्रयास भइरहेको छ । आवश्यक परे प्रहरीको सहयोगमा बिचौलिया नियन्त्रणमा लिई कारबाही प्रक्रिया अगाडि बढाइँदै आएको छ । केही दिनअघि मात्रै १३ जना बिचौलियालाई नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाइएको पनि उनले जानकारी दिए । हाल विभागको नेतृत्वबाट श्रम क्षेत्र सुधारमा तीव्रता दिइएको उनको भनाइ छ ।

व्यवसायीलाई सचेत गराइँदै : महासचिव बस्नेत

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले आफ्ना सदस्यलाई बिचौलिया र ठगीप्रति सचेत गराउँदै आएको जनाएको छ । सङ्घका महासचिव महेशकुमार बस्नेतका अनुसार समय–समयमा तालिम तथा सेमिनारमार्फत व्यवसायीलाई जानकारी दिइँदै आएको छ ।

सङ्घले विभागलाई आधिकारिक व्यवसायी बाहेकका व्यक्तिलाई प्रवेश नदिन र सेवा प्रवाहमा कडाइ गर्न आग्रह गर्दै आएको छ । म्यानपावर कम्पनीलाई सरकारी निकायमा जाँदा आधिकारिक कर्मचारी मात्र पठाउन र समस्या आए सङ्घसँग समन्वय गर्न सुझाव दिइएको बस्नेतले बताए ।

भ्रामक विज्ञापनप्रति सचेत रहन आग्रह

वैदेशिक रोजगार विभागले इजरायलको केयरगिभर रोजगारीका नाममा भ्रामक विज्ञापन फैलिएको भन्दै सचेत रहन आग्रह गरेको छ । आकर्षक तलबको प्रलोभन देखाएर सामाजिक सञ्जालमार्फत प्रचार भइरहेको भन्दै विभागले त्यस्ता विज्ञापनमा विश्वास नगर्न अनुरोध गरेको छ ।

नेपाल सरकार र इजरायल सरकारबीच भएको समझदारीअनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रका लागि कामदार पठाउने प्रक्रिया सरकार–सरकार (G2G) मार्फत मात्र हुने विभागले जनाएको छ । कुनै निजी संस्था, कम्पनी वा व्यक्तिलाई फाराम खुलाउने, विज्ञापन गर्ने वा कामदार पठाउने अधिकार नरहेको विभागका प्रवक्ता चन्द्रबहादुर शिवाकोटीले स्पष्ट पारेका छन् । भ्रामक विज्ञापन र ठगीमा संलग्न जो–कोहीलाई कडा कारबाही गरिने चेतावनी पनि विभागले दिएको छ ।

आजको हिमालय टाइम्स दैनिकमा प्रकाशित छ ।
 

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार