व्रिटिस कलेज सत्य, संवाद र जिम्मेवारीको बाटोबाट कहिल्यै विचलित हुँदैन : संस्थापक कँडेल

आइतबार, १३ पुस २०८२

काठमाडौँ । पछिल्लो समय काठमाडौं थापाथलीमा रहेको द ब्रिटिश कलेजले आफ्ना विद्यार्थीलाई ‘दुबईमा इन्टर्नसिप’ प्रदान गरेको विषय विवादमा आएको छ । केही विद्यार्थी आक्रोशित बनेका छन् । उक्त घट्नापछि कलेज भवनमा तोडफोड मात्र भएको छैन् सामाजिक संजालमा विरोध पनि भइरहेको छ । तर क्याम्पस प्रशासनले उक्त घट्नालाई केही असम्बन्धित एवम इस्यू नबुझेका विद्यार्थीले तोडमोड गरेको, अतिरन्जित गरेको साथै क्याम्पसको प्रतिष्ठामा आँच आउने काम गरेको भन्दै चिन्ता व्यक्त गरेको छ । उक्त घट्नालाई लिएर ब्रिटिस एजुकेशन ग्रुप एवम द व्रिटिस कलेजका संस्थापक राजन कँडेलसँग केन्द्रविन्दुले कुराकानी गरेको छ ।

पछिल्लो समय सामाजिक सञ्जालमा व्रिटिस कलेजबारे नकारात्मक सामग्रीहरु फैलिएको छ, तपाईंले यसलाई कसरी हेर्नु भएको छ ?

व्रिटिस कलेज विगत करिब १४ वर्षदेखि नेपालमा उच्च शिक्षा प्रदान गर्दै आएको एक प्रतिष्ठित शैक्षिक संस्था हो । यस अवधिमा हामीले झन्डै १० हजारभन्दा बढी विद्यार्थीलाई शिक्षा प्रदान गरिसकेका छौँ । हाम्रो कलेजले शैक्षिक गुणस्तरका साथै अन्तर्राष्ट्रिय अवसरहरूमा समेत विद्यार्थीलाई जोड्ने लक्ष्य लिँदै आएको छ । हाम्रो विभिन्न कार्यक्रमअन्तर्गत विद्यार्थीहरूलाई इन्टरनेशनल एक्सचेन्ज र क्रेडिट ट्रान्सफरका अवसरहरू उपलब्ध छन् । युके, दुबई, क्यानाडा, अस्ट्रेलिया लगायतका देशमा क्रेडिट ट्रान्सफरका लागि हामीले सम्बन्धित विदेशी संस्थाहरूसँग औपचारिक समझदारी गरेका छौँ । विशेषगरी हस्पिटालिटी म्यानेजमेन्ट कार्यक्रमअन्तर्गत पहिलो वर्ष नेपालमा अध्ययन गरी तेस्रो वर्ष दुबईमा अध्ययन गर्ने व्यवस्था हाम्रो साझेदार संस्थामार्फत सञ्चालन हुँदै आएको छ ।

यही सन्दर्भमा, अहिले म अत्यन्तै दुःखका साथ एउटा गम्भीर विषयबारे आफ्नो धारणा सार्वजनिक गर्न चाहन्छु । पछिल्लो समय सामाजिक सञ्जालमा व्रिटिस कलेजसम्बन्धी केही झुटा, गलत र भ्रामक सामग्रीहरू व्यापक रूपमा फैलाइएको देखियो । ती सामग्रीहरू कलेजको वास्तविकता भन्दा फरक छन् र हाम्रो संस्थाको छविलाई बदनाम गर्ने उद्देश्यले फैलाइएका जस्ता देखिन्छन् ।

यसमा प्रारम्भिक रूपमा हाम्रो हस्पिटालिटी म्यानेजमेन्टमा अध्ययनरत केही थोरै विद्यार्थी संलग्न भएको देखिएपनि पछि बाहिर–बाहिरका विभिन्न व्यक्तिहरू समेत यसलाई अतिरञ्जित र भ्रामक बनाउँदै कलेजविरुद्ध प्रयोग गरिएको तथ्य हाम्रो ध्यानमा आएको छ । दुबईस्थित हाम्रो साझेदार संस्थामार्फत हालसम्म नेपालबाट करिब ५०–५१ जना विद्यार्थी त्यहाँ अध्ययनका लागि गएका छन् र अहिले पनि उनीहरू अध्ययनरत छन् । तीमध्ये हालै ७–८ जना विद्यार्थीले आफूलाई उपलब्ध गराइएको इन्टर्नसिपप्रति असन्तुष्टि व्यक्त गरेको कुरा बाहिर आएको हो ।


यहाँ स्पष्ट गर्न चाहन्छु—कलेजको मुख्य उद्देश्य विद्यार्थीलाई शिक्षा प्रदान गर्नु हो । इन्टर्नसिपको हकमा कलेजले सहजीकरण र सहयोग गर्छ, तर विद्यार्थीले आफूले चाहेजस्तै वा रोजेकै स्थानमा इन्टर्नसिप ग्यारेन्टी गर्नु सम्भव हुँदैन । इन्टर्नसिपका लागि सम्बन्धित होटल वा संस्थाले लिने इन्टरभ्यूमा विद्यार्थी स्वयं सफल हुनुपर्छ । केही विद्यार्थी उक्त इन्टरभ्यू प्रक्रियामा सफल हुन सकेनन् भन्ने यथार्थ पनि छ । त्यसपछि पनि कलेजले आफ्नो नेटवर्क प्रयोग गरी ती विद्यार्थीहरूका लागि झन्डै चारवटा फरक–फरक इन्टर्नसिप अवसरहरू मिलाइदिएको थियो । अन्ततः डिसेम्बरको पहिलो सातादेखि अबुधाबीमा अफिसियल रूपमा इन्टर्नसिप कन्फर्म गरिएको थियो । त्यो क्रिसमसको छुट्टीको समय भएकाले इन्टर्नसिपका अवसरहरू तुलनात्मक रूपमा राम्रो थिए । त्यहाँ उनीहरूलाई बसोबास, खानाको व्यवस्था साथै १५०० देखि २००० दिरामसम्मको मासिक भत्ता पनि उपलब्ध गराइएको थियो ।

अधिकांश विद्यार्थीहरू यी व्यवस्थाबाट सन्तुष्ट र खुशी छन् । तर ती ७–८ जना विद्यार्थीहरू सायद केही हदसम्म मिसगाइडेड भए वा गलत सूचना र प्रभावमा परे भन्ने मेरो ठम्याइ छ । व्रिटिस कलेज सधैँ विद्यार्थीको भविष्यप्रति जिम्मेवार संस्थाका रूपमा काम गर्दै आएको छ र भविष्यमा पनि पारदर्शिता, गुणस्तर र सत्यताका साथ अघि बढिरहने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु । सामाजिक सञ्जालमा फैलाइएका भ्रमभन्दा वास्तविकता बुझ्न सबै सरोकारवालालाई म आग्रह गर्दछु ।

दुबईबाट फर्किएका ती सातआठ जना विद्यार्थीको वास्तविक अवस्था के हो ?

यदि कुनै विषयमा मिसअन्डरस्ट्यान्डिङ भएको हो भने, त्यो सबैमा हुनुपर्ने हो । तर यहाँ प्रश्न उठ्छ—दुबईमा अहिले पनि करिब ४० जना भन्दा बढी विद्यार्थी अध्ययनरत छन्, उनीहरूलाई कुनै समस्या छैन, उनीहरू सन्तुष्ट र खुशी छन् । त्यसो हुँदा पनि ७–८ जना विद्यार्थीमा मात्र असन्तोष देखिनु, मलाई लाग्छ, कतै न कतै गलत बुझाइ भएको हुन सक्छ ।

म यो दाबी गर्दिन कि हामी सधैँ एकसय प्रतिशत पर्फेक्ट छौँ । सम्भव छ, हाम्रो तर्फबाट कुराहरू अझ स्पष्ट र प्रभावकारी रूपमा बुझाउन सकिन्थ्यो । सायद हाम्रो स्टाफले अझ राम्रोसँग एक्सप्लेन गर्नुपथ्र्यो, वा सायद विद्यार्थीहरूले नै केही कुरा गलत रूपमा बुझे । त्यसैले यसलाई म पूर्ण रूपमा एउटै पक्षको गल्ती भनेर हेर्दिनँ । दुबईबाट फर्किएका ती ७–८ जना विद्यार्थीमध्ये केहीका अभिभावकसँग हामीले प्रत्यक्ष छलफल गर्यौँ । बसेर कुरा गर्यौँ, समाधान खोज्यौँ । केही विद्यार्थी उतै गलत किसिमले इन्फ्लुयन्स भएर फर्किएको कुरा पनि देखियो । कोही विद्यार्थी ‘हामी फर्किन्छौँ’ भन्दै फर्किसकेका थिए भने, कोहीको हकमा हामीले अभिभावकसँग मिलेर वैकल्पिक निकासको व्यवस्था गरिदियौँ । आजको मितिमा दुबईबाट फर्किएका ती विद्यार्थीहरूको समस्या समाधान भइसकेको छ । त्यस विषयमा कुनै अन्योल छैन ।


तर दुःखको कुरा के हो भने, दुबईबाट नफर्किएका एक–दुई जना विद्यार्थीले यही विषयलाई आधार बनाएर सामाजिक सञ्जालमा एक प्रकारको ‘सोसल मिडिया ट्रायल’ चलाएको देखियो । कलेजको अनुमति बिना भिडियो खिच्ने, लाइभ स्ट्रिम गर्ने, सामाजिक सञ्जालमा गालीगलौज गर्ने, शिक्षकहरूलाई मानसिक दबाब दिने, कक्षामा अवरोध सिर्जना गर्ने जस्ता गतिविधिहरू भए । यी सबै कुरा सुन्दा र देख्दा म व्यक्तिगत रूपमा मात्र होइन, संस्थागत रूपमा पनि अत्यन्तै स्तब्ध भएँ ।

व्रिटिस कलेजको १४ वर्षे इतिहासमा यस्तो घटना कहिल्यै भएको थिएन । हामीले हजारौँ विद्यार्थीलाई यही कलेजबाट ग्राजुएट गरिसकेका छौँ । हामी आफैँ अभिभावक हौँ, जिम्मेवार शैक्षिक संस्था हौँ । विद्यार्थीहरू केटाकेटी हुन्, उनीहरूबाट गल्ती हुनसक्छ । त्यसैले हामी कहिल्यै आक्रोशित हुँदैनौँ, बदला लिँदैनौँ । हामी संयमित भएर सम्झाउने, बुझाउने र सुधारको मौका दिने बाटो रोज्छौँ ।

यस्ता प्रयासहरू ती विद्यार्थीहरूसँग अहिले पनि जारी छन् । हामी संवादमै विश्वास गर्छौँ । तर यहाँ एउटा गम्भीर पक्ष पनि छ । विगत १४ वर्षमा कलेजले नियम उल्लंघन, शैक्षिक असफलता वा शुल्क नतिरेको आधारमा केही विद्यार्थीलाई कलेजबाट हटाएको इतिहास पनि छ । तीमध्ये दुई जना विद्यार्थीले अहिले अरू असम्बन्धित व्यक्तिहरूलाई जम्मा गर्ने, कलेजसँग कुनै सम्बन्ध नै नभएका मानिसहरूलाई समेत मिसाएर कलेज परिसरमा ल्याउने, हल्ला गर्ने, भिडियो खिच्ने, गालीगलौज गर्ने र कलेजको गरिमा अपमानित गर्ने काम गरेको देखियो । यति मात्र होइन, कलेजसँग कुनै सम्बन्ध नभएका बाहिरका विद्यार्थी संगठनलाई समेत बोलाएर कलेजमा तोडफोड गराउने गतिविधि भएको कुरा सुन्दा अत्यन्तै पीडा भयो । एउटा शैक्षिक संस्थामाथि यसरी आक्रमण हुनु, त्यो पनि गलत सूचना र आवेगका भरमा, अत्यन्तै दुर्भाग्यपूर्ण हो ।

व्रिटिस कलेजले सधैँ संवाद, सहमति र समाधानको बाटो रोज्दै आएको छ । हामी भविष्यमा पनि यही बाटोमा अघि बढ्नेछौँ । असन्तोष, भ्रम वा समस्या भए त्यसको समाधान टेबलमा बसेर, प्रमाण र तथ्यका आधारमा गर्न सकिन्छ । सामाजिक सञ्जालको हल्ला, अपमान र तोडफोड कुनै पनि समस्याको समाधान होइन । म सबै विद्यार्थी, अभिभावक र सरोकारवालालाई आग्रह गर्न चाहन्छु—भ्रमभन्दा वास्तविकता बुझौँ, आवेगभन्दा संवाद रोजौँ । व्रिटिस कलेज विद्यार्थीको भविष्यप्रति आज पनि उत्तिकै जिम्मेवार छ, र भोलि पनि रहनेछ ।

कलेजमाथि पछिल्लो समय विद्यार्थीमाथि मानसिक र शारीरिक ह्यारेसमेन्टसम्बन्धी गम्भीर आरोपहरू लागेका छन् । कलेजले यस्तो आरोपलाई कसरी सम्बोधन गरिरहेको छ ?

पछिल्लो समय व्रिटिस कलेजमाथि लगाइएका केही आरोपहरू अत्यन्तै गम्भीर प्रकृतिका छन् । त्यसैले यस विषयमा मेरो धारणा स्पष्ट रूपमा राख्नु आवश्यक ठान्छु । यदि कुनै विद्यार्थीलाई मानसिक स्वास्थ्यसम्बन्धी सहयोग चाहियो भने, हाम्रो कलेजभित्र त्यसका लागि छुट्टै डिपार्टमेन्ट छ । हामीसँग प्रशिक्षित काउन्सिलरहरू छन् । साथै, स्टुडेन्ट सर्भिसेस डिपार्टमेन्ट पनि सक्रिय छ । अहिलेसम्म ती निकायहरूमा यस किसिमको गम्भीर गुनासो आएको थिएन । कहिलेकाहीँ एक–दुई वटा व्यक्तिगत समस्या आउँछन्, जसलाई हामीले तुरुन्तै सम्बोधन गर्दै आएका छौँ।

आज कलेजमा करिब १५०० विद्यार्थी खुशी भएर अध्ययन गरिरहेका छन् । दुई–तीन जनाबाहेक अरूलाई यस प्रकारको समस्या छैन । यदि कसैलाई चित्त नबुझेको अवस्था आयो भने, त्यसका लागि हाम्रो स्पष्ट प्रक्रिया छ—पहिला शिक्षकसँग, त्यसपछि सर्भिस डिपार्टमेन्ट, म्यानेजमेन्ट, आवश्यक परे विश्वविद्यालय, एक्रेडिटेसन बडी वा शिक्षा मन्त्रालयसम्म जाने कानुनी र आधिकारिक बाटो खुला छ ।

यी कुनैपनि प्रक्रिया प्रयोग नगरी सिधै सामाजिक सञ्जालमा हो–हल्ला गर्नु, स्टाफ र शिक्षकलाई ह्यारेसमेन्ट गर्नु, कोठामा थुन्ने जस्ता गतिविधि गर्नु असभ्य र अस्वीकार्य व्यवहार हो । समस्या संवाद र प्रक्रियाबाट समाधान हुन्छ, अराजकता र दबाबबाट होइन भन्ने मेरो स्पष्ट विश्वास छ ।

दुबईमा अध्ययनरत विद्यार्थीहरूका लागि इन्टर्नसिपको व्यवस्थामा कलेजको भूमिका के हुन्छ ?

हाम्रो कार्यक्रमको संरचनाबारे सुरुमा स्पष्ट गर्न चाहन्छु । हस्पिटालिटी म्यानेजमेन्टअन्तर्गत विद्यार्थीहरूले एक वर्ष नेपालमा अध्ययन गर्छन् र त्यसपछि दुई वर्ष दुबईमा अध्ययन गर्न जान्छन् । दुबईमा अध्ययनका क्रममा इन्टर्नसिपको विषयमा कलेजले सहजीकरण र सहयोग गर्छ, जुन हामीले गरिरहेका छौँ । अहिले पनि करिब ४० जना भन्दा बढी विद्यार्थी दुबईमा अध्ययनरत छन्, इन्टर्नसिप गरिरहेका छन् र खुशी छन् । कलेजले गर्नुपर्ने जिम्मेवारी हामीले पूरा गरिरहेका छौँ, त्यसका सबै डकुमेन्टेसन र प्रमाणहरू हामीसँग सुरक्षित छन् ।

कतिपय विद्यार्थीहरू यति स्मार्ट हुन्छन् कि कलेजले सुझाएको भन्दा अझ राम्रो इन्टर्नसिप अवसर उनीहरूले आफैँ खोज्छन् । त्यसमा पनि उनीहरू पूर्ण रूपमा स्वतन्त्र छन् । कलेजले बाधा होइन, सहयोग मात्र गर्छ । तर सात जना विद्यार्थी विभिन्न कारणले दुबईबाट फर्किए । फर्किनु कुनै असामान्य कुरा होइन । यस्तो अवस्था कलेजको १४ वर्षे इतिहासमा पटक–पटक आएको छ । हामी त्यस्ता विद्यार्थीहरूसँग सहकार्य गर्छौँ, उनीहरूको अभिभावकसँग छलफल गर्छौँ र समस्या समाधानका उपाय निकाल्छौँ । यो हाम्रो लागि ठूलो संकट होइन, समाधान गर्न सकिने सामान्य विषय हो । तर समस्या त्यतिबेला सुरु भयो, जब केही विद्यार्थीहरूले कलेजसँग बसेर संवाद गर्ने प्रक्रिया अपनाएनन् । संवादमार्फत समाधान खोज्नुभन्दा सिधै सामाजिक सञ्जालमा गएर हो–हल्ला गर्ने, गालीगलौज गर्ने र कलेजलाई बदनाम गर्ने गतिविधि देखियो । हामीले ती दुई–तीन जना विद्यार्थीलाई पटक–पटक वार्ताका लागि बोलायौँ । तर संवादलाई प्रोडक्टिभ बनाउने सट्टा, भिडियो खिच्ने, इन्टरनेटमा राखेर अपमान गर्ने प्रवृत्ति मात्र देखियो । समस्या समाधान गर्नभन्दा पनि बेइज्जती गर्ने उद्देश्य हाबी भएको जस्तो लाग्यो ।

पछि उनीहरू विभिन्न राजनीतिज्ञकहाँ समेत पुगेको कुरा सामाजिक सञ्जालबाटै थाहा भयो । हामी मध्यस्थताका लागि त्यहाँ पनि गयौँ । हाम्रो म्यानेजमेन्टबाट प्रतिनिधि गयो, कर्मचारीहरू गएका थिए । तर त्यहाँ पनि समाधान खोज्नुभन्दा भिडियो खिचेर बदनाम गर्ने काम दोहोरियो । त्यसपछि केही अस्वभाविक र अव्यावहारिक मागहरू अगाडि आए, जसले हामीलाई झनै अचम्ममा पा-यो ।

हामी सधैँ रिजनएबल समाधानमा विश्वास गर्छौँ । विद्यार्थीलाई शिक्षक मन नपरे शिक्षक परिवर्तन गर्ने, कक्षाकोठामा समस्या भए सुधार गर्ने, पढ्नै मन नभए शुल्क फिर्ता गर्ने विकल्पसमेत हामीले दिएका छौँ । मैले व्यक्तिगत रूपमा एक महिना अघि नै भेटेर ‘चित्त नबुझे फी रिफन्ड लिन सक्नुहुन्छ’ भनेर स्पष्ट रूपमा भनेको हुँ । तर ती सबै विकल्प अस्वीकार गरेर सामाजिक सञ्जालमै गालीगलौज र भ्रामक प्रचारलाई निरन्तरता दिइयो ।

आज पनि हामी जिम्मेवार संस्थाकै रूपमा संवाद र मध्यस्थताको बाटोमै छौँ। शिक्षा मन्त्रालयको मध्यस्थतामा समेत छलफलको प्रक्रिया अगाडि बढिरहेको छ । विद्यार्थी असन्तुष्ट हुनु, गुनासो आउनु स्वाभाविक हो । हामी त्यसलाई समाधान गर्छौँ। तर अपवाह फैलाएर, हल्ला गरेर र अराजक व्यवहार गरेर समस्या समाधान हुँदैन । व्रिटिस कलेज सत्य, संवाद र जिम्मेवारीको बाटोबाट कहिल्यै विचलित हुँदैन भन्ने कुरामा म दृढ छु ।

कलेजमा विद्यार्थीहरुसँग लिने शुल्क संरचनामा कत्तिको पारदर्शिता छ ?

हाम्रो कलेजको शुल्क संरचना पूर्ण रूपमा पारदर्शी छ । कुन कोर्समा कति शुल्क लाग्छ, कहिले तिर्नुपर्छ भन्ने सबै विवरण लिखित रूपमा विद्यार्थीलाई पहिल्यै दिइन्छ । हामीसँग शुल्कको स्पष्ट सूची हुन्छ, र त्यसबाहेक एक रुपैयाँ पनि अतिरिक्त लिइँदैन । व्रिटिस कलेज अन्तर्राष्ट्रिय स्तरको जिम्मेवार संस्था हो । विगत १४ वर्षमा झन्डै १० हजार विद्यार्थी यहाँबाट अध्ययन पूरा गरेर गइसकेका छन्, र आजसम्म शुल्कसम्बन्धी यस्ता आरोप कहिल्यै पुष्टि भएका छैनन् । त्यसैले शुल्कबारे लगाइएका आरोप पूर्ण रूपमा गलत र आधारहीन हुन् ।

यस विषयमा शिक्षा मन्त्रालयले समेत चासो लिएर छानबिन समिति बनाउने प्रक्रिया अगाडि बढाइरहेको छ, जुन कुरालाई हामीले सकारात्मक रूपमा लिएका छौँ। हामी छानबिनबाट डराउने संस्था होइनौँ, बरु सत्य र तथ्य बाहिर आओस् भन्ने चाहन्छौँ । दुबईबाट फर्किएका विद्यार्थीहरूको हकमा कुरा गर्दा, फर्किसकेका दुवै समूहका विद्यार्थीहरूको समस्या समाधान भइसकेको छ । उनीहरूले चाहेको निकास कलेजले उपलब्ध गराइसकेको छ । अहिले दुबई नगएका वा नफर्किएका एक–दुई जना विद्यार्थीको विषयमा भने समस्या समाधान गर्नुभन्दा सामाजिक सञ्जालमा मात्र हल्ला गर्ने प्रवृत्ति देखियो।

कलेजसँग समस्या भए त्यसका लागि आधिकारिक प्रक्रिया छ। कलेजमा कम्प्लेन गर्न सकिन्छ, विश्वविद्यालय, क्वालिटी एस्योरन्स बडी, शिक्षा मन्त्रालय, यहाँसम्म कि प्रहरी प्रशासन र अदालतसम्म जाने कानुनी बाटो खुला छ । तर ती कुनै पनि प्रक्रिया नअपनाई सिधै सामाजिक सञ्जालमा टिकटक बनाउँदै आरोप लगाउनु, कर्मचारीको अनुमति बिना भिडियो खिच्नु र सार्वजनिक गर्नु गैरकानुनी काम हो। यसले समस्या समाधानभन्दा पनि अर्कै नियत देखाउँछ भन्ने अनुभूति हामीलाई भएको छ ।

यति हुँदाहुँदै पनि, हामी अझै जिम्मेवार संस्थाकै रूपमा खुला छौँ। ती २–३ जना विद्यार्थी र उनका अभिभावकलाई हामीले लिखित रूपमा पनि बोलाएका छौँ। सभ्य र सम्मानजनक संवादमार्फत समाधान खोज्न हामी सधैँ तयार छौँ। व्रिटिस कलेजले कहिल्यै विद्यार्थीमाथि अन्याय गर्दैन, र भविष्यमा पनि सत्य, पारदर्शिता र जिम्मेवारीको बाटोबाट पछि हट्दैन ।

केही विद्यार्थी संगठनहरूको अगुवाइमा कलेज परिसरमा प्रदर्शन र तोडफोड गरेको पनि देखियो । तपाईंको यस घटनाप्रति धारणा के छ ?

दुःखको कुरा के हो भने, यत्रो वर्षदेखि शिक्षा प्रदान गर्दै आउँदा व्रिटिस कलेजले कहिल्यै कुनै राजनीतिक संगठन वा विद्यार्थी संगठनसँग काम गर्नुपर्ने अवस्था आएको थिएन । हामी एउटा निजी शैक्षिक संस्था हौँ । यहाँ कुनै राजनीतिक वा बाह्य विद्यार्थी संघको संरचना छैन । हाम्रो काम विद्यार्थी र अभिभावकसँग प्रत्यक्ष संवाद गर्ने हो, र हामी सधैँ त्यही बाटोमा अघि बढेका छौँ । अन्य कार्यक्रम र कोर्सहरूमा आजसम्म यस्ता समस्या देखिएका छैनन् । अहिले एउटा कार्यक्रममा मात्र दुई–तीन जना विद्यार्थीको विषय उठेको हो, जसलाई हामी अभिभावकसँग बसेर संवादमार्फत समाधान गर्न पूर्ण रूपमा तयार छौँ ।

तर अत्यन्तै चिन्ताजनक कुरा के भयो भने, कलेजसँग कुनै सम्बन्धै नभएका ३५–४० जनाको समूह कलेज परिसरभित्र प्रवेश ग¥यो । त्यस समूहमा हाम्रो एक जना पनि विद्यार्थी थिएन । बाहिरका विद्यार्थी संगठनलाई कलेजभित्र ल्याएर तोडफोड गराउनु गैरकानुनी र गैरजिम्मेवार कार्य हो । १४ वर्षको इतिहासमा यस्तो घटना कहिल्यै भएको थिएन । यसले हामी सबैलाई स्तब्ध र दुःखी बनाएको छ ।

अहिले सामाजिक सञ्जालमा देखिएका ती दुई जना विद्यार्थीप्रति पनि हामी अभिभावककै भूमिकामा छौँ । सभ्य र सम्मानजनक तरिकाले उनीहरूको समस्या समाधान गर्न हामी अझै तयार छौँ । तर अस्वाभाविक र अव्यावहारिक मागहरू कलेजले कहिल्यै पूरा गर्दैन । उनीहरूले एक वर्ष पनि अध्ययन पूरा गरेका छैनन् र न्यूनतम शुल्क मात्र तिरेका छन् । त्यसो हुँदाहुँदै पनि हामी निकास दिन तयार छौँ । तर सामाजिक सञ्जालमार्फत बेइज्जती गर्ने गतिविधि तत्काल रोकिनुपर्छ ।

आज अन्तर्राष्ट्रिय स्तरमा नेपाली विद्यार्थीहरूका लागि भिसा, ट्राभल र अध्ययनका अवसरहरू थप संवेदनशील बनेका छन् । यस्ता हिंसात्मक र अराजक गतिविधिले सम्पूर्ण नेपाली विद्यार्थी समुदायको छवि बिगार्छ । केही विद्यार्थीबाट आगजनी जस्ता धम्कीसमेत आएको सुन्दा अत्यन्तै पीडा हुन्छ । यस्ता असभ्य कार्य स्वीकार्य छैनन् । त्यसै पनि हामी संयमित छौँ, सम्झाउने र बुझाउने प्रयासमै छौँ। व्रिटिस कलेज सधैँ संवाद, जिम्मेवारी र कानुनी प्रक्रियाको पक्षमा उभिन्छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार