झापा । जेनजी आन्दोलनप्रति समर्पित नेपाली चलचित्र ‘बिगुल’ आगामी माघ ९ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने भएको छ । चलचित्र निर्माण टिमले बिर्तामोडमा पत्रकार सम्मेलन आयोजना गर्दै चलचित्रको विषयवस्तु, निर्माण प्रक्रिया र प्रदर्शन मिति सार्वजनिक गरेको हो । बिर्तामोडस्थित उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा वीरता जेसीज, वीरता लेडी जेसीजसहित जेसीजका राष्ट्रिय तथा स्थानीय शाखाका पदाधिकारीको सहभागिता रह्यो । सो अवसरमा चलचित्रको फस्र्टलुक पोस्टर र ट्रेलर पनि सार्वजनिक गरिएको थियो ।
चितवनका दिनेश कोइरालाको कथा तथा निर्माणमा बनेको ‘बिगुल’को निर्देशन रमेश कोइरालाले गरेका हुन् भने कल्पना पौडेल प्रस्तुतकर्ता रहेकी छन् । निर्माता तथा लेखक कोइरालाका अनुसार चलचित्रमा समेटिएका विषयवस्तु गत भदौमा जेनजी युवाले देशभर चलाएको आन्दोलनसँग उल्लेख्य रूपमा मेल खाने प्रकृतिका छन् । “जे विषयमा केन्द्रित भएर कथा लेखिएको थियो, पछि त्यही मागसहित जेनजी पुस्ता सडकमा उत्रिनु अचम्मको संयोग हो,” उनले पत्रकार सम्मेलनमा भनिन् । उनका अनुसार चलचित्रले देश विकास, परिवर्तनप्रतिको जनचाहना र न्यायका सवाललाई मुख्य एजेन्डाको रूपमा प्रस्तुत गर्दछ, जसको भावनात्मक धरातल जेनजी आन्दोलनसँग निकट छ ।
निर्माण पक्षका दाबी अनुसार ‘बिगुल’ले युवा र महिलामा चेतना जगाउँदै भ्रष्टाचार र विकृति उन्मूलनका लागि परिवर्तनको बिगुल फुक्ने प्रयास गरेको छ । निर्देशक रमेश कोइरालाले पारिवारिक पृष्ठभूमि, सामाजिक न्याय र राजनीतिक सचेतनाबाट जन्मिएको नयाँ मार्ग, भुइँमान्छेहरूको सपना, संघर्ष र बलिदानीको इतिहासलाई पर्दामा उतार्ने लक्ष्य चलचित्रले बोकेको बताए । उनका अनुसार चलचित्रले स्वस्थ मनोरञ्जनसँगै सामाजिक रूपान्तरणतर्फ अभिमुखित सशक्त सन्देश दिने अपेक्षा गरिएको छ ।
म्याग्नोलिया ग्रुपको ब्यानरमा निर्माण गरिएको ‘बिगुल’मा बेनिशा हमाल, नरेन खड्का, रमेश बुढाथोकी, नीर शाह, सरोज खनाल, हेमन्त बुढाथोकी, शिशिर वाङ्देल, विनोद न्यौपाने, जेएन घिमिरे, गीता अधिकारी, मीरा पण्डित र मानश्री शर्मा लगायत कलाकारको अभिनय रहेको छ । चलचित्रको पटकथा तथा संवाद प्रदीप भारद्वाज र मौनता श्रेष्ठले तयार पारेका हुन् । शिव ढकालको छायाङ्कन, कमल राई र कविराज गहतराजको नृत्य निर्देशन, एनबी महर्जनको द्वन्द्व निर्देशन, विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत तथा तारा थापा ‘किम्भे’को सम्पादन रहेको निर्माण पक्षले जानकारी दिएको छ । सूर्यकान्त कोइराला र महेश कोइराला सहनिर्माता रहेका छन् ।
तीन मिनेट पाँच सेकेन्ड लामो सार्वजनिक ट्रेलरमा राजनीति, परिवर्तन र न्यायका लागि उठेको आवाजलाई सशक्त ढंगले प्रस्तुत गरिएको छ । ‘बिगुल’ काठमाडौं उपत्यकाभित्र काफिया फिल्म्स र उपत्यकाबाहिर श्री ब्याङ्केट्स इन्टरटेन्मेन्टमार्फत वितरण हुने बताइएको छ । बिर्तामोडमा आयोजित कार्यक्रममा नेपाल जेसीजका पूर्व अध्यक्ष फूलकुमार लालवानी, सिङ्गापुर वेभरेजका सञ्चालक रमेश शर्मा, नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष रजेन्द्र चम्लगाई, वर्तमान राष्ट्रिय उपाध्यक्ष मिनु ओली, वीरता जेसीजका अध्यक्ष युवराज कुँवर, वीरता लेडी जेसीजकी अध्यक्ष निशा शाक्यलगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया