वैकल्पिक शक्तिको एकता भाँडियो: बालेन र रविसँगको सहमति तोडेर कुलमान अलग्गै चुनाव लड्ने !

आइतबार, २७ पुस २०८२

काठमाडौँ : आगामी निर्वाचनमा वैकल्पिक शक्ति एकै ठाउँमा रहने सम्भावना कमजोर बनेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा एकीकृत हुने सहमति भइसकेपछि पनि उज्यालो नेपाल पार्टी एकता प्रक्रियाबाट बाहिरिएको छ। यससँगै आगामी चुनावमा कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी अलग्गै वैकल्पिक शक्तिका रूपमा मैदानमा उत्रिने भएको छ।

रास्वपा वैकल्पिक शक्तिलाई ध्रुवीकरण गर्ने प्रयासमा रहेकै बेला काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) भने रास्वपामै समाहित भइसकेका छन्। वैकल्पिक शक्ति एकै ठाउँमा ल्याउने प्रयास असफल हुनुको मुख्य कारण रास्वपासँगको एकता प्रक्रियाबाट कुलमान घिसिङ असन्तुष्ट हुनु हो।

घिसिङले पत्रकार सम्मेलन गरेर रास्वपासँग भएको सहमतिमा धोका भएको आरोप लगाएका छन्। उनले पुस १४ गते रास्वपासँग सहमति गरेका थिए। उक्त सहमतिपत्रमा रास्वपातर्फबाट सभापति रवि लामिछाने र उज्यालो नेपालतर्फबाट अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरेका थिए भने साक्षीका रूपमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको हस्ताक्षर रहेको थियो।

सहमति यति चाँडै भङ्ग हुनुको कारणबारे घिसिङ भन्छन्,‘यी १२ दिन मेरा लागि निकै ठूलो बिलखबन्दमा बिते। कता जाने भन्ने अन्योल थियो। अगाडि बढ्न खोज्दा उहाँहरूले अघि बढ्न दिनुभएन, पछि हट्न खोज्दा आम नेपाली र जेन–जी भाइबहिनीहरूको सपनालाई धोका दिन नमिल्ने अवस्था आयो।’

उनका अनुसार सहमतिका बुँदाहरू कार्यान्वयन गर्न रास्वपा तयार नभएपछि एकता प्रक्रिया टुटेको हो।

रास्वपासँग सहमति भएपछि उज्यालो नेपाल पार्टीका केही व्यक्तिहरूको नाम रास्वपाको समानुपातिक सूचीमा समेटिएको थियो।

पत्रकार सम्मेलनमा घिसिङले मिलेसम्म समानुपातिक प्रणालीमार्फत चुनाव लड्ने प्रयास गर्ने र सम्भव नभए प्रत्यक्ष निर्वाचनमा मात्र सहभागी हुने बताए।
उनले भने, ‘समानुपातिकमा कुरा नमिले प्रत्यक्षमै चुनाव लड्छौँ।’

नेताहरूका अनुसार सङ्घीयता, पहिचान, गणतन्त्र र धर्मनिरपेक्षताजस्ता विषयमा लिखित प्रतिबद्धता सार्वजनिक गर्नुपर्ने उज्यालो नेपालको मागमा रवि लामिछाने र बालेन शाह सहमत नभएपछि घिसिङ बिच्किएका हुन्।

२०७९ को निर्वाचनमा रास्वपाले प्रदेश सभा निर्वाचनमा भाग नलिएको, साथै रास्वपा सभापति लामिछाने र काठमाडौँका मेयर बालेनले प्रदेश सभा निर्वाचनमा मतदानसमेत नगरेको पृष्ठभूमिमा पार्टीको वैचारिक स्पष्टतामाथि प्रश्न उठ्दै आएको थियो।

रास्वपाले राष्ट्रिय सभा निर्वाचनमा समेत सहभागिता जनाएको छैन। यही वैचारिक अस्पष्टताकै कारण घिसिङले आफ्नै बाटो रोज्ने निर्णय लिएका हुन्।

यसका साथै केन्द्रीय समितिमा सहभागिता, समानुपातिक सूचीमा कति जना रहने लगायतका विषयमा सहमति नजुटेपछि कुलमान उज्यालो नेपाल पार्टीबाटै अगाडि बढ्न खोजेका छन्। नेताहरूका अनुसार घिसिङको व्यक्तिगत राजनीतिक महत्त्वाकाङ्क्षाले पनि रास्वपासँगको यात्रा दीर्घकालीन हुन सकेन।

रवि लामिछाने र कुलमान घिसिङबीच पटक–पटक छलफल भएर पनि एकता टिक्न सकेन। सहकारी ठगी प्रकरणमा रवि जेलमा रहँदा समेत कुलमानसँग संवाद भएको र धरौटीमा रिहा भएपछि पनि भेटवार्ता भएको नेताहरू बताउँछन्।

प्रारम्भिक चरणमा रविले घिसिङलाई नै प्रधानमन्त्री बनाउने विषयमा छलफल गरेका थिए। तर त्यसबीच बालेन रास्वपामा जोडिएपछि बालेनलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने सहमति बनेको थियो। त्यसपछि कुलमानलाई नेतृत्व स्वीकार गराउने प्रयास असफल भयो।

रास्वपाबाट अलग्गिनुको अर्को कारण पहिचान पक्षधर नेताहरूको दबाबसमेत रहेको बताइन्छ। उज्यालो नेपाल पार्टीमा प्राध्यापक महेन्द्र लावती, डकेन्द्रसिंह थेगिम, खगेन्द्र माखिमलगायत पहिचानवादी नेताहरू आबद्ध छन्।

उनीहरूले पहिचानको मुद्दा पार्टी विधानको प्रस्तावनामै समेटिएको भन्दै उज्यालो नेपाल रोजेका थिए।

पहिचानवादी नेताहरू कुलमानको रास्वपामा विलय गर्ने निर्णयप्रति असन्तुष्ट थिए। पार्टीभित्र परामर्श नगरी विलय गरिएको भन्दै डकेन्द्रसिंह थेगिमले सार्वजनिक विरोध गरेका थिए। रास्वपाको समानुपातिक सूचीमा समेटिएका प्राध्यापक डा. महेन्द्र लावतीले पनि असहमति जनाएका थिए।

पहिचान, सङ्घीयता र धर्मनिरपेक्षताको आधारभूत एजेन्डामा रास्वपा र उज्यालो नेपालबीच पटक–पटक छलफल भए पनि सहमति हुन नसकेपछि एकता प्रक्रिया अन्ततः भङ्ग भएको हो।

यद्यपि उज्यालो नेपाल पार्टीका केही नेताहरू भने रास्वपामै रहने भएका छन्। तारा जोशी, विशाल भण्डारीलगायतका नेता रास्वपासँग एकताको पक्षमै रहने जनाइएको छ।

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार