काठमाडौँ : निर्वाचन आयोगले प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन सामाजिक सञ्जालमा हुने गतिविधिलाई पनि आचारसंहिताको दायरामा ल्याएको छ।
प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते हुँदैछ। आयोगका अनुसार, आचारसंहितामा निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने उद्देश्यका साथ कसैले पनि सामाजिक सञ्जालमा खाता सञ्चालन गर्न वा नक्कली साइट खोल्न नपाउने व्यवस्था गरिएको छ।
आचारसंहिताले सामाजिक सञ्जालमा ‘आर्टिफिसियल इन्टिलिजेन्स’ (एआई) प्रयोग गरी वा नगरी निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यका साथ होच्याउने, दुष्प्रचार गर्ने काम गर्न नपाइने व्यवस्था गरेको छ।
त्यस्तै, भ्रामक सूचना सम्प्रेषण गर्ने, अपमान गर्ने वा द्वेषपूर्ण भाषण जस्ता भ्रामक टिप्पणी गर्न वा गराउन पनि नपाइने व्यवस्था आचारसंहितामा समावेश गरिएको छ।
कुनै प्रयोजनका लागि प्रकाशन वा प्रसारण भएको सूचना वा सामग्रीलाई एआईको प्रयोग गरी वा नगरी निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले तोडमोड गरी सामाजिक सञ्जालमा पोष्ट, रिपोस्ट, कमेन्ट, प्रतिकमेन्ट, लाइभ स्ट्रिमिङ, ट्याग वा मेन्सनजस्ता कार्य गर्न वा गराउन पाइने छैन।
निर्वाचनको विश्वसनीयता वा आयोग, आयुक्त वा कर्मचारीको प्रतिष्ठामा प्रतिकूल असर पर्ने गरी अवाञ्छित लाञ्छना लगाउन नपाइने व्यवस्था पनि आचारसंहितामा गरिएको छ।
कसैको चरित्र हत्या गर्न, व्यक्तिगत लाञ्छना लगाउन, मानहानि गर्न वा यस्तै प्रकृतिका सामग्री उत्पादन गर्न, प्रकाशन गर्न वा प्रसारण गर्न वा गराउन नपाइने व्यवस्था पनि समावेश गरिएको छ।
मतदाता र मतदाताको गोप्यता भङ्ग गर्न, निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित पार्ने कुनै पनि कार्य गर्नसमेत पाइँदैन। आयोगले आगामी माघ ३ गतेदेखि आचारसंहिता लागू गर्ने तयारी गरेको छ।
प्रतिक्रिया