काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले संविधान अन्तरगत गरिने एक थान निर्वाचनले मात्रै मुलुकलाई निकास नदिने बताएका छन् । आज काठमाडौंमा अधिवक्ता स्वागत नेपालले राप्रपाका तर्फबाट झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले सो कुरा बताएका हुन्।
अध्यक्ष लिङ्देनले नेपालमा समस्या पर्दा विदेशीको मुख ताक्न नपर्ने अवस्था निर्माण गर्ने हो भने यो चुनाव अगाडि नै सबै राजनीतिक शक्तिहरुको बीचमा नयाँ समझदारी कायम गरेर चुनावमा जानुपर्ने समेत बताए ।
लिङ्देनले भने, हामीले यो सरकार र सम्बन्धीत सबैलाई निरन्तर रुपमा भन्दै आइरहेका छौं की देशलाई दिर्घकालिन शान्ति, स्थायित्व प्रदान गर्ने र फेरी भविष्यमा कसैले विद्रोह गर्नुपर्ने परस्थिती आउन नदिने र नेपालको निर्णायकत्व नेपाली जनताको हातमै राख्ने र नेपालमा समस्या पर्दाखेरी विदेशीको मुख ताक्न नपर्ने अवस्था निर्माण गर्ने हो भने यो चुनाव अगाडि नै सबै राजनीतिक शक्तिहरुको बीचमा नयाँ समझदारी कायम गरेर चुनावमा जानुपर्छ भन्ने हाम्रो धारणा कायम नै छ ।’
कार्यक्रममा अधिवक्ता स्वागत नेपालले झापा क्षेत्र नम्बर २ बाट राप्रपाको तर्फबाट उम्मेदवारी दिने घोषणा गरे । अधिवक्ता नेपालले अब देशलाई साँच्चै बचाउने हो भने हिन्दु, बौद्ध, किरात, सनातन धर्मको रक्षा अबको आवश्यकता भएको बताए । उनले नागरिकहरु जुनसुकै पार्टीमा भएपनि, कुनै पार्टीमा नभए पनि यो देश बचाउनुपर्छ भन्नेहरुका लागि अब राप्रपा बाहेक अन्यत्र भोट हाल्ने ठाउँ नभएको समेत अधिवक्ता नेपालको भनाई रहेको थियो ।
प्रतिक्रिया