मोरङमा उम्मेदवारी फिर्तापछि प्रतिनिधिसभाको मैदानमा ११० जना

शुक्रबार, ०९ माघ २०८२

विराटनगर : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मोरङमा मनोनयन दर्ता गराएका उम्मेदवारमध्ये ६ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । 

उम्मेदवारी फिर्ताले चुनावी प्रतिस्पर्धाको तस्बिर स्पष्ट बनाएको छ । उम्मेदवारी फिर्ता र यसअघि भएका रद्दसमेत जोड्दा हालसम्म ८ जना उम्मेदवार चुनावी मैदानबाट बाहिरिएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार माघ ६ गते मनोनयन दर्ता गराएका कुल १ सय १८ उम्मेदवारमध्ये शुक्रबार तोकिएको समयसीमाभित्र ६ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् । फिर्ता लिनेमा २ जना राजनीतिक दलका र ४ जना स्वतन्त्र उम्मेदवार रहेका छन् ।

दलतर्फबाट मोरङ क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका दुर्गाप्रसाद दर्लामीले उम्मेदवारी फिर्ता लिएका छन् भने क्षेत्र नम्बर ६ बाट नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का तिलकराम राजवंशीले चुनावी प्रतिस्पर्धाबाट बाहिरिने निर्णय गरेका छन् ।

यसैगरी स्वतन्त्र उम्मेदवारतर्फ मोरङ क्षेत्र नम्बर ३ बाट सुरेश लिम्बू, कञ्चन न्यौपाने र दलबहादुर थापाले उम्मेदवारी फिर्ता लिएका छन् । क्षेत्र नम्बर ६ बाट स्वतन्त्र उम्मेदवार राम खत्रीले पनि आफ्नो उम्मेदवारी कायम नराख्ने निर्णय गरेका छन् ।

निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधिसभा निर्वाचन ऐन, २०७४ को दफा २५ को उपदफा ४ अनुसार उम्मेदवारी फिर्ता लिएका उम्मेदवारहरूको नाम आधिकारिक सूचीबाट हटाइसकिएको जनाएको छ । यसअघि नै मोरङ क्षेत्र नम्बर ४ बाट उज्यालो नेपाल पार्टीका विनोद परियार र क्षेत्र नम्बर ६ बाट जसपाका महमद जाविरको उम्मेदवारी रद्द भइसकेको थियो ।

उम्मेदवारी फिर्ता लिने ६ जना र उम्मेदवारी रद्द भएका २ जनासहित हालसम्म ८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धाबाट बाहिरिएका छन् । यससँगै अब मोरङमा प्रतिनिधिसभा सदस्यका लागि १ सय १० जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।

उम्मेदवारको संख्या घटे पनि मोरङका विभिन्न निर्वाचन क्षेत्रमा दलहरूबीचको प्रतिस्पर्धा, स्वतन्त्र उम्मेदवारको प्रभाव र मत विभाजनको सम्भावनाबारे राजनीतिक वृत्तमा चासो झनै बढ्दै गएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार