काठमाडौं: नेपाली कांग्रेसका सभापति गगन थापाको आगमनले सर्लाही–४ को चुनावी माहोल एकाएक तातेको छ। संसदीय राजनीतिमा कांग्रेसको दबदबा रहेको सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वतमान सांसद अमरेश सिंहसहित ३९ उम्मेदवार मैदानमा छन्।
नेपाली कांग्रेसबाट गगनकुमार थापा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट अमरेशकुमार सिंह, नेकपा एमालेबाट अमनिशकुमार यादव, नेपाली कम्युनिस्ट पार्टीबाट रजनीश राय र जनता समाजवादी पार्टी (जसपा)बाट रामेश्वर राय यादव चुनावी मैदानमा छन्।
एमालेबाट प्रभावशाली नेता शिवपुजन यादवका छोरा अमनिशकुमार यादव र अमरेश सिंहको शक्ति प्रदर्शन हुने यो क्षेत्रमा कांग्रेस सभापति थापाको प्रवेशले निर्वाचन अझ रोचक हुने देखिएको छ।
यद्यपि विगतका अधिकांश निर्वाचनमा कांग्रेसकै बाहुल्यता रहेको सो क्षेत्रमा, गत २०७९ को आमनिर्वाचनमा स्वतन्त्र उम्मेदवार अमरेशले जितेका थिए। उनी त्यसअघिसम्म कांग्रेसकै उम्मेदवार भएर विजयी हुँदै आएका थिए।
यसैबीच कांग्रेस उम्मेदवार थापा, रास्वपा उम्मेदवार सिंह, एमाले यादव जोडतोडका साथ घरदैलो अभियानमा छन्। बाँकी उम्मेदवारले बाक्लो उपस्थिति देखाएको छैन।
पहिलो चरणको अभियान सकेर थापा आज काठमाडौं फर्किने कार्यक्रम छ। उनले सर्लाही–४ का ५२ वडामा निर्वाचन परिचालन समिति गठन गरी पार्टीलाई मैदानमा पूर्ण रूपमा उतार्ने रणनीति तय गरेका छन्। पहिलो चरणमा उनले कार्यकर्ता र मतदाताका समस्या सुन्ने र दोस्रो चरणमा आफ्ना कुरा राख्ने योजना बनाएका छन्।
थापाले बुधबार मात्र गोडैता नगरपालिकाका पाँच वडाध्यक्ष नेपाली कांग्रेसमा प्रवेश गराएका छन्। नेकपा एमालेका दुई, माओवादीका दुई र जसपाका एक गरी पाँच जना वडा अध्यक्ष कांग्रेसमा प्रवेश गरेकाले पनि उनको पक्षमा शक्ति बढेको नेताहरूले बताएका छन्।
कांग्रेस मधेस प्रदेश उपसभापति तथा प्रदेश सांसद वीरेन्द्र सिंहका अनुसार, थापाले सर्लाही–४ का सबै पालिकामा छलफल गर्दै समस्या टिपोट गरिरहेका छन्। यस्तै, रास्वपा उम्मेदवार सिंहका निकटस्थलाई समेत उनले आफ्नो पक्षमा उभ्याएका छन्। डा. रमेश सिंह, केदारनन्दन चौधरी, सीताराम सिंह, श्याम साह, अनिता यादव, राजनारायण कुशवाहा, मनोजप्रसाद सिंह र डा. कमलेश सिन्हा अमरेशको साथ छोडेर कांग्रेस उम्मेदवार थापाको पक्षमा उभिएका छन्।
सर्लाही–४ मा कांग्रेसको परम्परागत पकड रहेको छ। यहाँ पहाडी भूगोल र विपन्न बस्ती छन्। जातीय हिसाबले यादवको बाहुल्यता भएको यस क्षेत्रमा तीन यादव उम्मेदवार छन्, जसले मत विभाजन हुने सम्भावना देखिन्छ।
‘अमरेश कुमारको विगतको मत भनेकै गाछीको मत हो,’ सर्लाही–४ ‘क’ का सांसद वीरेन्द्र सिंहले भने, ‘अघिल्लो निर्वाचनमा उनको व्यक्तिगत प्रभाव र कांग्रेससँगको सम्बन्धका कारण जित भएको हो। तर यसपटक पार्टी सभापति र भावी प्रधानमन्त्रीकै उम्मेदवार आएपछि माहोल परिवर्तित भएको छ। गाछीले सहज रूपमा जित्ने छन्।’
स्विङ भोटमा भने बालेन शाहको प्रभाव देखिन्छ। रास्वपाले भावी प्रधानमन्त्रीको उम्मेदवार बनाएकाले असंगठित भोट रोक्न अन्य दलका लागि चुनौतीपूर्ण छ।
उता, दलबदलमा माहिर खेलाडी शिवपुजन यादवको व्यक्तिगत प्रभाव जबर्जस्त रहेको नेताहरूले बताएका छन्। २०६४ मा तत्कालीन जनअधिकार फोरमबाट सर्लाही–४ मा निर्वाचित शिवपुजनले अधिकांश निर्वाचनमा निर्णायक मत होल्ड गर्दै आएका छन्।
२०७९ मा छोरी मधुमालाकुमारी यादवलाई मैदानमा उतारेका बेला, स्वतन्त्र उम्मेदवार अमरेशले २० हजार १७ मत ल्याएर जितेका थिए भने मधुमालाकुमारी १४ हजार ६ सय २२ मत ल्याएर तेस्रो स्थानमा रहेकी थिइन्।
यसपटक शिवपुजनले एमालेबाट छोरा अमनिशकुमार यादवलाई अघि सारेको छन् भने मधुमाला स्वतन्त्र उम्मेदवार बनेर मैदानमा छिन्। यसले त्रिपक्षीय प्रतिस्पर्धा निम्त्याएको छ। तर कांग्रेस सभापति थापा भावी प्रधानमन्त्रीकै उम्मेदवार र परम्परागत मतसँग बलियो भएकाले उनलाई सहज हुने विश्लेषण स्थानीय नेता र कार्यकर्ताले गरेका छन्।
प्रतिक्रिया