काठमाडौँ : नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले आफूलाई जिम्मेवारी सुम्पने नेता तथा कार्यकर्ताको शिर निहुरिने अवस्था आउन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।
सभापति पदमा निर्वाचित भएपछि विशेष महाधिवेशनस्थलमा बुधवार नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई सम्बोधन गर्दै उनले पार्टी सदस्यहरूलाई काँग्रेस भएकामा गर्व गर्ने पार्टी बनाउने दृढ सङ्कल्प व्यक्त गरे।
‘जुन विश्वासका साथ सभापतिको जिम्मेवारी सुम्पिनुभएको छ, तपाईँहरू कसैको पनि शिर निहुरिने अवस्था आउन दिने छैन। नेपाली काँग्रेस पार्टीको सान राख्छु।
यस पार्टीमा लागेका सम्पूर्ण साथीहरूले नेपाली काँग्रेस भएकामा गर्व गर्ने अवस्था बनाउँछु। नागरिक अप्ठ्यारो अवस्थामा पर्दा काँग्रेस छ भन्ने अनुभूति गराउने काम पार्टीले गर्नेछ,’ नवनिर्वाचित सभापति थापाले भने।
उनले नेपाली काँग्रेसको विशेष महाधिवेशन काँग्रेसको इतिहासमा मात्र होइन, आधुनिक नेपालको इतिहासमै भुईँ तहका कार्यकर्ताले गरेको सबैभन्दा ठुलो हस्तक्षेप भएको बताए।
सभापति थापाले भने, ‘भुईँ तहका कार्यकर्ता भनेका जनताका प्रतिनिधि हुन्, नागरिक हुन्। यो नागरिकले दलभित्र गरेको हस्तक्षेप हो।’
नेपाली काँग्रेस कुनै हालतमा नफुटेको उल्लेख गर्दै उनले वैधानिक रूपमा सम्पन्न विशेष महाधिवेशनबाट पार्टी फुट्यो भन्ने प्रश्नै नउठ्ने स्पष्ट पारे।
यसअघि केन्द्रीय निर्वाचन समितिका संयोजक सीताराम केसीले सभापति पदमा थापा निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए।
प्रतिक्रिया