चितवन : विश्व क्यान्सर दिवसका अवसरमा चितवन मेडिकल कलेज (सिएमसी)को भगिनी संस्था सिएमसी क्यान्सर इन्स्टिच्युटमा निःशुल्क बहिरङ्ग सेवा (ओपिडी) सुरु गरिएको छ । विश्व क्यान्सर दिवस २०२६ को अवसरमा यही माघ १९ गतेदेखि २४ गतेसम्म बहिरङ्ग सेवा निःशुल्क र क्यान्सर स्क्रिनिङमा ५० प्रतिशत छुटसमेतको व्यवस्था गरिएको इन्स्टिच्युटले जनाएको हो ।
विश्व क्यान्सर दिवसको अवसरमा अस्पतालले आज सचेतना र्यालीको आयोजना गरेको छ । अस्पतालबाट सुरु भएको र्यालीले भरतपुरका विभिन्न ठाउँको परिक्रमा गरेको थियो । र्यालीमा कलेजका प्राध्यापक, अस्पतालका चिकित्सक, कर्मचारी र विद्यार्थीहरूको सहभागिता थियो ।
क्यान्सर सचेतना र समयमै पहिचानको उद्देश्यसहित विशेष स्वास्थ्य सेवा अभियान सञ्चालन गरिएको अस्पतालले जनाएको छ । यस अभियानको मुख्य उद्देश्य क्यान्सर रोगको प्रारम्भिक पहिचान गरी समयमै उपचारमा सहयोग पु¥याउनु रहेको इन्स्टिच्युटका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाले जानकारी दिए ।
विशेष अभियानअन्तर्गत पुरुषहरूका लागि विभिन्न परीक्षण समावेश गरिएको क्यान्सर स्क्रिनिङ प्याकेज उपलब्ध गराएको छ । रगतको मात्रा मापन, कलेजोको कार्य परीक्षण, मिर्गाैलाको कार्य परीक्षण, रगतको मधुमेहको परीक्षण, प्रोस्टेट क्यान्सर परीक्षण, छातीको एक्स–रे, पेटको भिडियो एक्सरे सेवा रहेका छन् ।
यसैगरी महिलाका लागि क्यान्सर स्क्रिनिङ प्याकेजअन्तर्गत रगतको मात्रा मापन, कलेजोको कार्य परीक्षण, मृगौलाको कार्य परीक्षण, रगतको मधुमेह परीक्षण, पाठेघरको मुखको परीक्षण, छातीको एक्स–रे, पेटको अल्ट्रासाउन्ड, स्तनको अल्ट्रासाउन्ड रहेका छन् । महिला र पुरुष दुवैले आफ्नो शरीरमा क्यान्सर छ÷छैन भन्नेबारे जानकारी लिन परीक्षण गराइने देवकोटाले जानकारी दिए । उनका अनुसार यी सबै परीक्षण शुल्कमा ५० प्रतिशत छुट दिइएको छ ।
इन्स्टिच्युटले क्यान्सरजस्तो गम्भीर रोगबारे जनचेतना फैलाउन तथा समयमै परीक्षण गराउन यो अभियान प्रभावकारी हुने विश्वास लिएको उनको भनाइ रहेको थियो । स्वास्थ्य विशेषज्ञहरूले क्यान्सरको प्रारम्भिक पहिचानले उपचार सफल हुने सम्भावना उच्च रहने भएकाले यस्ता अवसरको सदुपयोग गर्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।
प्रतिक्रिया