देशको अवस्थाले मानसिक स्वास्थ्यमा गम्भीर असर पारेको छ : मन्त्री गौतम

बुधबार, २१ माघ २०८२

काठमाडौं : देशको वर्तमान आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक अवस्थाले नागरिकको मानसिक स्वास्थ्यमा गम्भीर असर पारेको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतम शर्माले बताएकी छन् ।

बुधबार लगनखेलस्थित मानसिक अस्पतालको अवलोकनपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै मन्त्री शर्माले आफूले सपथ ग्रहण गरेकै दिनदेखि मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्दै आएको बताइन् । उनले अहिलेको राष्ट्रिय परिस्थितिका कारण समाजमा विभिन्न किसिमका विचलनहरू देखापरेको र त्यसको प्रत्यक्ष प्रभाव मानसिक स्वास्थ्यमा परेको उल्लेख गरिन् ।

मन्त्री गौतमले विभिन्न अस्पतालहरूको निरीक्षणका क्रममा आफूले अनुमान गरेभन्दा धेरै मानसिक स्वास्थ्यसम्बन्धी समस्या भएका बिरामीहरू देखिएको बताइन् । महिला, पुरुष, किशोरी तथा बालबालिकासमेत मानसिक समस्याका कारण अस्पतालका बेडमा भर्ना हुनुपरेको र ओपिडीमा पनि बिरामीको उल्लेख्य भीड रहेको स्वास्थ्य मन्त्री गौतमको भनाइ रहेको थियो ।

मन्त्री गौतमले मानसिक स्वास्थ्य क्षेत्रले लामो समयदेखि अपेक्षित प्राथमिकता नपाएको स्पष्ट भएको उल्लेख गर्दै यस क्षेत्रलाई अब उच्च प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याइन् । उनले आगामी सरकारले पनि मानसिक स्वास्थ्यलाई राष्ट्रिय प्राथमिकताको विषयका रूपमा लिएर प्रभावकारी कार्यक्रम अघि बढाउन आग्रह गरिन् ।


 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार