पर्यटन विकास र कृषि क्रान्तिले नवलपरासीलाई समृद्ध बनाउने विजय कंडेलको दाबी

बुधबार, २८ माघ २०८२

नवलपरासी । पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार विजय कंडेलले पर्यटन र कृषिको आधुनिक विकासमार्फत नवलपरासीलाई देशकै नमुना र समृद्ध जिल्ला बनाउने दाबी गरेका छन्। उज्यालो नेपालका तर्फबाट युवा उम्मेदवार रहेका कंडेलले पत्रकार भेटघाटमा जिल्लाको आर्थिक विकासका लागि आफूले स्पष्ट र व्यावहारिक कार्यसूची तयार गरेको बताए।

उज्यालो नेपालका जिल्ला संयोजक अमुल पाण्डेको नेतृत्वमा चुनावी प्रचारप्रसार र कार्यकर्ता भेटघाट तीव्र पारिएको छ। संयोजक पाण्डेका अनुसार चुनावी घोषणापत्र तयारीको अन्तिम चरणमा पुगेको छ र फागुन ४ गतेदेखि व्यापक घरदैलो कार्यक्रम सुरु गरिनेछ। कंडेलले “भाषण होइन, देखिने र छोइने परिवर्तनका लागि चुनावी मैदानमा आएको” उल्लेख गरे।

सुस्ता–३, नवलपरासीका स्थायी बासिन्दा कंडेल अंग्रेजी साहित्यमा स्नातकोत्तर गरेका छन्। केही वर्ष अस्ट्रेलियामा बसेर त्यहाँको विकास र प्रविधिको अनुभव लिएपछि स्वदेशमै केही गर्ने उद्देश्यले फर्किएको उनले बताए। हाल उनी काठमाडौं र चितवनमा ‘हाइजेनिक मिट सेन्टर’, एचएमसी फुड्स, हाइजेनिक एग्रो टुरिजम फार्म तथा होटल–रेस्टुरेन्ट व्यवसायमा संलग्न छन्। यसअघि ‘जाग्यो नेपाल’ अभियानमार्फत काठमाडौंलाई धुलोरहित बनाउने अभियानमा नेतृत्व गरेको र २०७९ को निर्वाचनमा काठमाडौं क्षेत्र नं. ५ बाट प्रतिस्पर्धा गरेको पनि उनले स्मरण गरे।

राजनीतिमा आउनुको कारणबारे बोल्दै कंडेलले विगतमा निर्वाचित नेताहरूले जनप्रतिनिधिको भूमिका बिर्सेर व्यक्तिगत स्वार्थमा लागेको आरोप लगाए। देशको कमजोर अर्थतन्त्र, कूटनीति र प्रशासनिक विकृति अन्त्य गर्न युवाको नेतृत्व आवश्यक रहेको उनले बताए। युवालाई व्यवसायसँग जोड्ने र उपलब्ध स्रोत–साधनको अधिकतम सदुपयोग गरी ‘किसानलाई मालिक’ बनाउने आफ्नो मुख्य लक्ष्य रहेको उनको भनाइ थियो। उज्यालो नेपाल पार्टीका संस्थापक केन्द्रीय सदस्यसमेत रहेका कंडेलले जिल्लाको समृद्धिका लागि स्पष्ट खाकासहित चुनावी मैदानमा उत्रिएको बताए।

कंडेलले नवलपरासी–१ का लागि पर्यटन, कृषि र प्रविधिलाई मुख्य एजेन्डा बनाएका छन्। रामग्राम स्तुप, त्रिवेणी धाम र सुस्ता क्षेत्रलाई पर्यटकीय हबका रूपमा विकास गर्ने, उखु, केरा र धानमा न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्ने, ‘Ujyalo Nawalparasi App’ मार्फत ४८ घण्टाभित्र जनताका गुनासो सम्बोधन गर्ने तथा सडक निर्माणको डिजिटल निगरानी गर्ने योजना उनले सार्वजनिक गरे। गाउँमै ‘स्किल हब’ स्थापना गरी युवालाई आईटी र प्राविधिक शिक्षामा दक्ष बनाउने पनि उनको प्रतिबद्धता छ।

नवलपरासीका ऐतिहासिक र धार्मिक स्थलहरूको विकास नै जिल्लाको ठूलो पहिचान भएको उल्लेख गर्दै कंडेलले रामग्राम स्तुप, त्रिवेणी धाम, मदार बाबा, अनोमा घाट, पाल्ही भगवती, महलपोखरी र सुस्ता क्षेत्रको पूर्वाधार विकास र प्रचार–प्रसार गर्न सके ठूलो संख्यामा पर्यटक भित्रिने बताए। पर्यटनलाई स्थानीय रोजगारीसँग जोड्ने विशेष योजना ल्याइने उनको भनाइ थियो।

कृषि क्षेत्रमा रहेको बिचौलिया प्रथा अन्त्य गर्दै कृषकलाई प्रत्यक्ष लाभ पुग्ने प्रणाली विकास गरिने उनले बताए। उखु, केरा, धान र दूधजस्ता उत्पादनमा न्यूनतम समर्थन मूल्य सुनिश्चित गर्न कानुनी व्यवस्था गरिने कंडेलले उल्लेख गरे। “अब किसानले पसिनाको उचित मूल्य पाउनेछन्,” उनले भने।

प्रविधिमैत्री सुशासनका लागि ‘Ujyalo Nawalparasi App’ मार्फत मतदातासँग सिधा जोडिने र सांसदको कामको मासिक ‘रिपोर्ट कार्ड’ सार्वजनिक गर्ने प्रतिबद्धता उनले व्यक्त गरे। सडक निर्माणमा हुने ढिलासुस्ती रोक्न मोबाइलबाटै डिजिटल निगरानी गर्ने प्रणाली बसालिने उनको योजना छ।

शिक्षा, स्वास्थ्य र सामाजिक समानताका विषयलाई पनि प्राथमिकतामा राखिएको कंडेलले बताए। हरेक विद्यालयसम्म कन्क्रिट बाटो पुर्‍याउने, गाउँमै विशेषज्ञ सेवासहित ‘मोबाइल मेडिकल युनिट’ सञ्चालन गर्ने, जातीय छुवाछुत र विभेद विरुद्ध शून्य सहनशीलताको नीति अपनाउने, शुद्ध खानेपानी, हरित गाउँ निर्माण र विपन्न परिवारलाई बिजुली महसुलमा सहुलियत दिने योजना उनले सार्वजनिक गरे।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार