रौतहट । रौतहट निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार देवप्रसाद तिमल्सिनाको पक्षमा जनसमर्थन बढ्दै गएको दाबी गरिएको छ। मंगलबार चन्द्रपुर नगरपालिका–३ गैँडाटारमा आयोजित कार्यक्रममा विभिन्न दलसँग आबद्ध नेता–कार्यकर्ताले तिमल्सिनालाई समर्थन जनाउँदै नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
कार्यक्रममा एमालेका सुरेश कुमार राई, मुना अधिकारी, लक्ष्मी आचार्य तथा नेकपासँग आबद्ध लोकेन्द्र राई, तुल्सी राई, आइते राई र सुश्मिता आचार्यले कांग्रेस प्रवेश गर्दै तिमल्सिनालाई खुलेर समर्थन गरेको जनाइएको छ। उनीहरूले आगामी निर्वाचनमा तिमल्सिनाको जित सुनिश्चित गर्न चुनावी अभियानमा सक्रिय रूपमा लाग्ने बताएका छन्।
नवप्रवेशीहरूले आफूहरूले तिमल्सिनाको उम्मेदवारीलाई विकास र स्थायित्वको पक्षमा देखेको उल्लेख गर्दै कांग्रेस रोजेको बताएका थिए। उनीहरूका अनुसार स्थानीय तहमा जनतासँग प्रत्यक्ष जोडिएका उम्मेदवार भएकाले तिमल्सिनालाई समर्थन गर्ने निर्णय लिएको हो।
कार्यक्रममा बोल्दै युवा नेता सुमन गौतमले नयाँ दलहरूले सस्तो लोकप्रियताका लागि विभिन्न हत्कण्डा अपनाए पनि जनमत कांग्रेसकै पक्षमा रहेको दाबी गरे। उनले रौतहट–४ मा तिमल्सिनाको पक्षमा जनलहर बढ्दै गएको बताए।
प्रतिक्रिया