झलनाथ खनाल उम्मेद्वार नभएको इलाम–१ः तीन दशकपछि पूर्ण रूपमा बदलियो चुनावी मैदान

बुधबार, २८ माघ २०८२

पाँचथर : बहुदल आएपछि २०४८ सालदेखि २०७९ सम्मका सबै निर्वाचनमा अविछिन्न उम्मेद्वार बनेका थिए झलनाथ खनाल ।

खनाल ७ पटक चुनाव लड्दा २०५६ र २०७९ सालका आम निर्वाचन बाहेक ५ पटक यस क्षेत्रबाट निर्वाचित भए ।

२०४८,२०५१,२०५६ र २०७४ का आम निर्वाचन सँगै २०६४ र २०७० सालका संविधान सभा सदस्य निर्वाचनमा नेकपा एमालेको सूर्य चिन्हबाट चुनाउ लडेका खनाल २०७९ सालमा कांग्रेस र माओवादी केन्द्रको समर्थनमा बनेको गठबन्धनबाट कलम चिन्ह लिएर उम्मेद्वार बन्दा एमालेका महेश बस्नेत सँग पराजित भए ।  

त्यस अघि २०५६ सालको आम निर्वाचनमा काँग्रेसका बेनुपराज प्रसाईसग पराजित भएका उनले बाँकी ५ वटा निर्वाचन जितेका थिए ।

खनाल यस पटक उम्मेद्वार छैनन् । इलामको धरातलबाट निरन्तर केन्द्रीय राजनीतिको केन्द्रबिन्दुमा रहेका खनाल सँगै २०५६ र २०७९ सालमा उनलाई हराएका प्रसाई र बस्नेत पनि यस पटक उम्मेद्वार छैनन् ।

झलनाथ सहित उनका समकक्षी कसैको उम्मेद्वारी नभएकाले यस पटक इलाम १ को राजनीतिले मूलधारमा त्यति धेरै चर्चा पाएको छैन ।

फिक्कल बजारका मणिराम क्षेत्री झलनाथ सहित पटक –पटक चुनाव लडेका उम्मेद्वार प्रतिस्पर्धामा नहुँदा इलामेली मतदातालाई नयाँ मध्येका पनि योग्य उम्मेद्वारलाई भोट हाल्ने अवसर मिलेको बताँउछन ।

पहिलेका चुनावमा प्रतिष्ठाको लडाई हुन्थ्यो,कहिले इलामले प्रधानमन्त्री पाउँछ भनेर भोट हालियो,कहिले पार्टीका शीर्ष नेता हार्दा जिल्लाकै इज्जत जान्छ भनेर हालियो,कहिले पहिले पनि दिइयो यिनैलाई दिनुपर्ला भनेर दिइयो,यस पटक उहाँको उम्मेद्वारी नभएकाले नयाँलाई परीक्षण गर्ने मौका मिल्यो ।’ –उनले भने ।

खनाल २०४८ सालको संसदीय निर्वाचनमा पहिलो पटक इलाम–१ बाट निर्वाचित भएका थिए , उनी त्यही बेलादेखि मुलुकको राजनीतिको केन्द्रमा रहे । उनी २०५१सालको मध्यावधि निर्वाचनमा पुनः विजयी भए । २०५६ सालमा भने उनी काँग्रेसका बेनुपराज प्रसाइसग पराजित भए । 

त्यसपछि २०६४ र २०७० का संविधानसभा निर्वाचनमा पुनः जित निकाल्दै राष्ट्रिय राजनीतिमा प्रभावशाली भूमिकामा पुगे। २०७४ मा प्रतिनिधिसभा सदस्यमा फराकिलो मतान्तर सहित विजयी भएका खनाल एमालेमा भएको औपचारिक विभाजन स“गै नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीबाट चुनाउ लड्दा २०७९ मा भने एमालेका महेश बस्नेतसँग पराजित भए । त्यो हारपछि पनि उनी इलाम–१ को राजनीतिक बहसबाट भने बाहिरिएका छैनन् । 

लामो समयसम्म प्रतिस्पर्धामा देखिँदै आएका प्रमुख अनुहार एकैचोटि मैदान बाहिरी“दा इलाम–१ को चुनावी दृश्य पूर्णतः नयाँ बनेको मतदाताहरू सुनाँउछन । 

मतदाताहरूका अनुसार इलाम–१ मा यसअघिका संसदीय र संविधान सभाका निर्वाचन  झलनाथ र उनको प्रतिष्ठा सँग जोडिन्थे । स्थानीय तह निर्वाचनमा टिकट पाउने र जित्ने पनि उनी निकटकै नेता कार्यकर्ता हुन्थे । 

मतदाताको निर्णय पनि प्रायः उनको पक्ष वा विपक्षमा केन्द्रित हुन्थ्यो । उनी उम्मेद्वार नभएकाले अहिले त्यो अवस्था छैन पछिल्लो पटक खनाल नेकपा एस हुँदै नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्नका साथै बद्लिँदो राजनैतिक प्रभावले उनको क्रेज घट्दो अवस्थामा छ । मतदाताहरू यस पटक उम्मेद्वारका एजेन्डा र दृष्टिकोण हेरेर भोट दिने पक्षमा छन ।

इलाम जिल्ला चिया खेती, पर्यटन र सिमाना व्यापारसँग जोडिएको क्षेत्र हो । यो क्षेत्रबाट पटक पटक जितेका खनाल २०५३ सालमा सूचना तथा सञ्चार मन्त्री र २०६७ सालमा प्रधानमन्त्री बने । यद्वपी यहाँको पर्यटन विकास र पूर्वाधारले तीन दशक भन्दा लामो समय अवधिसम्म पूर्णता नपाएको गुनासो यस क्षेत्रका नागरिकको छ ।

रोजगारीका अवसर सिर्जना नहुँदा युवा शक्ति विदेश पलायन हुने क्रम तीव्र छ । 

यस पटक दलहरूले नयाँ– नयाँ अनुहारलाई उम्मेद्वार बनाएका छन ।

इलाम १बाट यस पटक नेकपा एमालेका काजीमान कागते,नेपाली काँग्रेसका निष्कल राई,नेपाली कम्युनिष्ट पार्टीका  रनवहादुर राई,राष्ट्रिय स्वतन्त्र पार्टीका  विमल गदाल र श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ सहित १३ जना उम्मेद्वार चुनावी मैदानमा छन । यहाँ १लाख १२ हजार ३ सय २० जना मतदाता छन ।

यहाँ“ नेपाली कांग्रेस,नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी बिच त्रिपक्षीय प्रतिस्पर्धा हुने मतदाताको अनुमान छ । यद्वपी राष्ट्रिय स्वतन्त्र पार्टी,उज्यालो नेपाल र श्रम संस्कृति पार्टीले पनि उल्लेख्य मत ल्याउन अनुमान छ ।

प्रतिक्रिया

लक्ष्मी गौतम
लेखकको बारेमा
लक्ष्मी गौतम
जिल्ला संवाददाता

लेखक ३ दशक अघिदेखि पाँचथर जिल्लामा रहेर सक्रिय रूपमा कलम चलाउँदै आउनुभएको छ ।

सम्बन्धित समाचार