मोरङमा निर्वाचन लक्षित कडा सुरक्षा, मतदानस्थलको संयुक्त अनुगमन

बुधबार, २८ माघ २०८२

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन मोरङमा निर्वाचन लक्षित सुरक्षा व्यवस्था कडा पारिएको छ । 

निर्वाचनको मिति नजिकिँदै जाँदा मतदानस्थल र मतदान केन्द्रको संयुक्त रूपमा स्थलगत अनुगमन एवं निरीक्षण गर्ने कामलाई तीव्र पारिएको छ । मोरङमा ३ सय ६ वटा मतदानस्थल र ८ सय ८८ वटा मतदान केन्द्र तोकिएका छन् । 

स्थानीय प्रशासन, सुरक्षा निकाय र निर्वाचन कार्यालयलगायतका सरोकारवाला निकायबीच प्रभावकारी समन्वयलाई प्राथमिकतामा राख्दै दैनिक रूपमा जिल्लाका विभिन्न मतदानस्थल र केन्द्रहरूको स्थलगत अनुगमन भइरहेको हो । मुख्य निर्वाचन अधिकृत चित्रबहादुर गुरुङको नेतृत्वमा अनुगमन एवं निरीक्षण भइरहेको छ । 

अनुगमन टोलीमा मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेल, नेपाली सेनाका प्रमुख सेनानी अनिल बस्नेत, मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाल, सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी गेहेन्द्रबहादुर भण्डारी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख एसपी राजन शर्मा लगायत छन् । अतिसंवेदनशील र संवेदनशील मतदान केन्द्रको सुरक्षा अवस्था, भौतिक पूर्वाधार, पहुँचमार्ग, सञ्चार सुविधा तथा आकस्मिक अवस्थाको तयारीका बारेमा विस्तृत अनुगमन भइरहेको एसपी कटवालले बताए । 

मोरङमा हालसम्म क्षेत्र नम्बर २, ३, ४, ५ र ६ का मतदानस्थल र केन्द्रको अनुगमन भइसकेको छ । क्षेत्र नम्बर १ का मतदान केन्द्रको अनुगमन जारी छ । उत्तरी मोरङका दुर्गम तथा भौगोलिक दृष्टिले चुनौतीपूर्ण मतदान केन्द्रहरूको अनुगमनका लागि बुधबार टोली जाँदैछ । 

भौगोलिक हिसाबले चुनौतीपूर्ण मानिएका ठाउँमा मौसम, सडकको अवस्था र सञ्चार पहुँचलाई ध्यानमा राख्दै सुरक्षा रणनीति तयार पारिएको छ । अनुगमनका क्रममा मतदान केन्द्रमा आवश्यक पर्ने  सुरक्षित भवन, शौचालय, खानेपानी, अपांगतामैत्री पहुँच, मतदान कक्षको गोपनीयता, सुरक्षाकर्मीको तैनाथी तथा भिड व्यवस्थापनको तयारीको अवस्था लगायत न्यूनतम पूर्वाधारका बारेमा बुझने काम भइरहेको एसपी कटवालको भनाइ छ । 

अनुगमनका क्रममा देखिएका समस्याहरु तत्काल समाधान गर्न पनि संयुक्त अनुगमन टोलीले निर्देशन दिइरहेको छ । निर्वाचन आचारसंहिता कार्यान्वयनको विषयलाई पनि प्राथमिकतामा राखिएको छ । निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तथा मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले निर्वाचनलाई निष्पक्ष र विश्वसनीय बनाउन आचारसंहिताको पूर्ण पालना अनिवार्य रहेको स्पष्ट पारे । 

उनका अनुसार राजनीतिक दल, उम्मेदवार, जनप्रतिनिधि, कर्मचारी तथा सुरक्षाकर्मी सबैले आआफ्नो भूमिकाप्रति सजग र जिम्मेवार हुनुपर्ने अवस्था छ । ‘निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गराउन कडाइका साथ अनुगमन भइरहेको छ । कुनै पनि किसिमका अवाञ्छित गतिविधि सह्य हुँदैनन् । गलत गतिविधि गर्नेलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याइने छ,’ कोइरालाले भने । 

मतदातालाई निर्भीक र सुरक्षित वातावरणमा मतदान गर्न पाउने संवैधानिक अधिकार सुनिश्चित गर्न सुरक्षा व्यवस्था मजबुत पारिएको जानकारी प्रजिअ कटेलले दिए । 
उनका अनुसार निर्वाचनको समयमा सम्भावित भिड व्यवस्थापन गर्न, सुरक्षित र निर्धक्क भएर मतदान गर्न पाउने वातावरण बनाउन र मतपेटिकाको सुरक्षा गर्ने लगायतका विषयमा सुरक्षा प्राथमिकतामा छन् । 

मतदानस्थल र केन्द्रहरूलाई संवेदनशीलताको आधारमा वर्गीकरण गरिएको छ । विगतका निर्वाचनको अनुभव, राजनीतिक दलका गतिविधि, जनघनत्व, भौगोलिक अवस्था तथा सामाजिक संरचनालाई आधार मानेर सुरक्षा रणनीति तयार गरिएको छ । अतिसंवेदनशील केन्द्रहरूमा सुरक्षाकर्मी परिचालन, नियमित गस्ती, प्रभावकारी सञ्चार संयन्त्रजस्ता विषयलाई प्राथमिकतमा राखेर काम गरिएको प्रजिअ कटेलको भनाइ छ । 

सुरक्षा निकायले निर्वाचन अवधिभर मदिरा बिक्री वितरण, अवैध हतियार ओसारपसार, नगद तथा प्रलोभनका गतिविधि, अनधिकृत भेला जुलुसजस्ता विषयमा निगरानी बढाएका छन् । सीमावर्ती क्षेत्र भएकाले भारतसँग जोडिएका नाकाहरू उच्च निगरानीमा परेका छन् । ठाउँठाउँमा निर्वाचन लक्षित अन्तरक्रिया पनि भइरहेको छ । 

निर्वाचन कार्यालयले मतदाता शिक्षालाई पनि प्राथमिकता दिएको छ । मतपत्र कसरी प्रयोग गर्ने, मतदान कक्षभित्र पालना गर्नुपर्ने नियम, निषेधित सामग्रीबारे जानकारी दिन स्थानीय तह र स्वयंसेवकमार्फत सूचना प्रवाह भइरहेको कार्यालयले जनाएको छ । अपांगता भएका व्यक्ति, अशक्त, ज्येष्ठ नागरिक तथा गर्भवती महिलालाई सहज रूपमा मतदान गर्न विशेष व्यवस्थाको तयारी गरिएको छ ।

राजनीतिक दलहरूबीच प्रतिस्पर्धा तीव्र बन्दै गए पनि प्रशासनले सबै पक्षलाई संयमित र मर्यादित गतिविधि सञ्चालन गर्न आग्रह गरेको छ । चुनाव प्रचारका क्रममा सार्वजनिक सम्पत्ति प्रयोग, धार्मिक तथा जातीय भावनामा असर पर्ने अभिव्यक्ति, बालबालिकाको प्रयोग, सरकारी स्रोतसाधनको दुरुपयोगजस्ता विषयमा कडाइ गरिने जनाइएको छ । 

मोरङ जिल्लालाई कोशी प्रदेशकै राजनीतिक रूपमा महत्त्वपूर्ण जिल्ला मानिन्छ । यहाँका विभिन्न निर्वाचन क्षेत्रहरूमा प्रतिस्पर्धा रोचक बन्ने अपेक्षा गरिएको छ । त्यसैले सुरक्षा तथा प्रशासनिक तयारीमा कुनै कमजोरी हुन नदिने नीति लिइएको छ । 

प्रशासनका अनुसार निर्वाचनको दिन आकस्मिक अवस्थाका लागि द्रुत प्रतिक्रिया टोली तयारी अवस्थामा रहनेछ । व्यवस्थापनका अन्य पाटोलाई पनि मजबुत बनाइने प्रजिअ कटेलको भनाइ छ । उनका अनुसार फागुन २१ लाई लक्षित गर्दै मोरङमा निर्वाचन तयारी बहुआयामिक रूपमा अघि बढेको छ । 

सुरक्षा, आचारसंहिता, पूर्वाधार, मतदाता शिक्षा र प्रशासनिक समन्वयजस्ता पक्षलाई सन्तुलित रूपमा सुदृढ बनाउने प्रयास भइरहेको उनले बताए । सुरक्षाको पूर्ण प्रत्याभूति हुने उल्लेख गर्दै प्रशासनले मतदातालाई ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुने वातावरण तयार पारिने जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार