रवि लामिछानेलाई सांसदको शपथ नगराउन माग गर्दै सर्वोच्चमा रिट

बुधबार, २८ मंसिर २०७९
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । बुधबार सिन्धुलीका युवराज पौडेलले लामिछानेको नागरिकता विवाद र सांसद पदको सम्बन्धमा सर्वोच्चमा रिट दर्ता गराएका छन् । युवराज सफलका नामले चिनिने युवराज पौडेलले बुधबार रविको सांसद पदको शपथ नगराउन र आपराधिक विश्वासघातमा कारबाही गर्न माग गर्दै रिट दर्ता गराएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने नेपाली नागरिक नरहेको र नेपाली नागरिक नरहेको व्यक्ति नेपालको निर्वाचनमा भाग लिन नपाउने कानुनी व्यवस्था विपरीत उनको उम्मेदवारी दर्ता गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित समेत गराएको भन्दै लामिछानेविरुद्ध रिट दर्ता भएको हो । उनले नेपाली नागरिकता त्याग नगरी अमेरिकी नागरिकता लिएको र अमेरिकी नागरिकता र पासपोर्ट लिएकै समयमा नेपाली पासपोर्टसमेत लिएको भन्दै उनीविरुद्ध निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन आयोग र गृह मन्त्रालयमा पनि उजुरी परेको थियो । गृह मन्त्रालयमा परेको उजुरीको सम्बन्धमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमार्फत् जिल्ला प्रहरी परिसर काठमाडौँले छानबिन गरिरहेको छ ।लामिछानेले अमेरिकी नागरिकता लिएको मिति, अमेरिकी नागरिकता त्याग गरेको मिति, अमेरिकी नागरिकता लिएकै समयमा नेपाली नागरिकता वा पासपोर्ट लिएको वा नलिएको र अमेरिकी नागरिकता त्याग गरेको भए विधिवतरुपमा नेपाली नागरिकता पुनः प्राप्ति गरेको वा नगरेको विषयमा छानबिन गरिरहेको छ । सर्वोच्चमा दर्ता गरिएको रिटमा नागरिकता ऐन, २०६३ को दफा १०(१) को विपरीतको कार्य गरेको भन्दै दल दर्ता, मतदाता नामावली, दलको पदाधिकारीमा नियुक्ति र उम्मेदवार वा प्रतिनिधि बनेको अवस्थामा सो सबै काम कानून विपरीतको भएकाले खारेज गर्न मागदावी लिइएको छ । लामिछानेले नेपाली नागरिकको हैसियत प्राप्त नगरेकै समयमा भएका सम्पूर्ण कामकारबाही बदर गर्दै निर्वाचन आयोगलाई झुक्याएर दल दर्ता र मतदाता नामावालीमा नाम दर्ता गराउने र उम्मेदवार बन्ने काम भएको भए उक्त काम अपराध भएको भन्दै कारबाही गर्न माग समेत गरिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार