अर्जेन्टिना भर्सेस फ्रान्स : हेड टु हेडमा अर्जेन्टिना अघि

शनिबार, ०२ पुस २०७९
कतारमा भइरहेको २२औं संस्करणको फिफा विश्वकपको उपाधिका लागि आइतबार राति अर्जेन्टिना र फ्रान्सबीच लुसेल आइकोनिक स्टेडियममा प्रतिस्पर्धा हुँदैछ । साविक विजेता फ्रान्स लगातार विश्वकप जित्ने अभियानमा छ भने ८ वर्षपछि फाइनल पुगेको अर्जेन्टिना सन् १९८६ पछि विश्वकप उपाधि जित्ने लक्ष्यमा रहेको छ । डिएगो म्याराडोनाको नेतृत्वमा विश्वकप जिते पछि अर्जेन्टिनाले ३६ वर्षसम्म उपाधि जित्न सकेको छैन । पछिल्लो पटक २०१४ मा फाइनल पुगेपनि लिओनल मेस्सीको अर्जेन्टिना फाइनलमा जर्मनीसँग अतिरिक्त समयमा पराजित भएको थियो । फेरि एक पटक मेस्सीले अर्जेन्टिनालाई फाइनल पुर्‍याएका छन् र अन्तिम विश्वकप खेलिरहेका मेस्सीका लागि विश्वकप जित्नको लागि अर्को अवसर छ । फ्रान्स भने पछिल्लो सात मध्ये चौथो पटक विश्वकप फाइनल पुगेको हो । १९९८ मा पहिलो पटक विश्वकप जितेको फ्रान्स २००६ मा भने इटलीसँग पराजित भएको थियो । डिफेन्डिङ च्याम्पियन फ्रान्स लगातार दोस्रो उपाधि जित्ने दोस्रो टिम बन्ने अभियानमा छन् । विश्वकपको इतिहासमा ब्राजिलले मात्र लगातार दुई पटक (सन् १९५८ र सन् १९६२)मा उपाधि जितेको थियो । फ्रान्स र अर्जेन्टिनाबीचको विगत भने अर्जेन्टिनाको पक्षमा छ । अहिलेसम्म यी दुई टोलीबीच कूल १२ खेल भएको छ । जसमा अर्जेन्टिनाले ६ खेल जित्दा फ्रान्सले ३ खेलमा जित दर्ता गर्न सफल भएको छ । यस्तै विश्वकपमा भएका प्रतिस्पर्धामा पनि अर्जेन्टिना अगाडि छ । विश्वकपमा तीन खेलमा भेट हुँदा अर्जेन्टिनाले २ खेल जितेको छ भने फ्रान्सले १ खेल जितेको छ । पछिल्लो पटक २०१८ मा रुसमा भएको विश्वकपको अन्तिम १६ मा फ्रान्सले अर्जेन्टिनालाई ४-३ ले पराजित गरेको थियो । यी दुईबीच १९३० को विश्वकपमा पहिलो पटक भेट भएको थियो । जहाँ अर्जेन्टिनाले प्रान्सलाई १-० ले पराजित गरेको थियो । यस्तै १९७८ को विश्वकपमा अर्जेन्टिनाले फ्रान्सलाई समूह चरणमा ३-१ ले पराजित गरेको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार