वराहक्षेत्र । सुनसरीको वराहक्षेत्र वडा नं ६ र ९ स्थित श्रीलंका टप्पु क्षेत्रमा रहेको ऐलानी जमिन कुनै पक्षलाई भाडामा दिने पक्षमा नगरपालिका नरहेको नगर प्रमुख रमेश कार्कीले स्पष्ट पारेका छन् ।
करिब २५ सय बिघा सरकारी र व्यक्तिको जमिन निजी क्षेत्रलाई भाडा दिन स्कीकृत गराउन नगरपालिका सिफारिस गरेको कुरा गलत भएको समेत नगर प्रमुख कार्कीले बताएका छन् ।
नगर प्रमुख कार्कीले रमेश कार्कीले श्रीलंका टापुका जनताको स्वास्थ्य, शिक्षा, पर्यटन र कृषिमा काम गर्ने भनी लिएर आएको प्रस्ताव जनताको हितअनुकूल हुने गरी गर्ने मात्र सहमति भएको तर जमिन भाडा दिने कुनै कुरा स्वीकृत नभएको बताए ।
बराहक्षेत्र नगरपालिका–६ र ९ टप्पु कोसी कटानको जोखिममा छ । हरेक वर्ष कोसीले जग्गा कटान गर्छ। त्यहाँको ३० प्रतिशत जमिन कोसी कटानभित्र पर्छ।
बाँकी वारि पर्छ, जुन सुरक्षित छ । त्यहाँ हरेक व्यक्तिको ५ देखि १० बिघा जमीन छ। उनीहरू खेती गरेर बसेका छन् ।
त्यहाँ घाँस, दाउरा र सबै हिसाबले सहज छ । ऐलानी जग्गा संरक्षण गर्न नगरपालिका आफैं पनि लागेको छ । अहिले त्यहाँ बस्ती पनि बढेको मेयर कार्कीले बताए ।
‘टप्पुमा करिब दुई हजारमाथि जनसंख्या भैसकेको छ। त्यहाँका सबै मानिस हाँसीखुुसी बसेका छन्। स्थानीयले हामीलाई यहाँबाट स्थानान्तरण गरिदिनुपर्यो भनेर आग्रह गरे मात्रै स्थानान्तरण गर्न सकिन्छ’ मेयर कार्कीले भने, ‘नत्र भने अहिलेलाई हामीले वा सरकारको बलले मात्र त्यसो गर्ने अवस्था छैन। त्यहाँ निजी क्षेत्रको एउटा कम्पनीले शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन क्षेत्रमा काम गर्न नगरपालिकासँग सिफारिस मागेको थियो । हामीले त्यसमा काम गर्ने हो भने ठिक छ भनेर सिफारिस दिएका मात्र छौं ।’
सरकारी जग्गा भाडामा दिने अधिकार नगरपालिकासँग नहुने उल्लेख गर्दै उनले दिने कुरामा सहमति नहुने बताए ।
‘निजी जग्गाको कुरा मलाई थाह भएन। सरकारी जग्गा लिजमा दिने अधिकार मन्त्रिपरिषद्सँग हुन्छ’ मेयरले भने, ‘नगरपालिकाभित्र श्रीलंका टापु पर्ने भएकाले पनि हाम्रो चासो छ। तर कोही कसैले भाडामा माग्दैमा त्यहाँ बसोबास गर्ने जनताको हितप्रतिकूल काम गर्न हुँदैन र हामी हुन दिदैनौँ ।’
प्रतिक्रिया