विराटनगर । मोरङको कटहरीमा साप्ताहिक रूपमा लाग्दै आएको हटिया सार्ने विषयमा बुधबार व्यापारी र प्रहरीबीच झडप भएको छ ।
त्यस क्रममा प्रहरीका एकजना इन्सपेक्टर (प्रहरी निरीक्षक) र एकजना सइ (प्रहरी नायव निरीक्षक) घाइते भएका छन् । उनीहरुको विराटनगरस्थित कोसी अस्पतालमा उपचार भइरहेको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले हटिया सार्ने विषयलाई लिएर विवाद उत्पन्न हुँदा स्थानीय व्यापारीले प्रहरीमाथि ढुंगामुडा गरेको बताए ।
नेपाल र सशस्त्र प्रहरीले बल प्रयोग गरेर स्थिति नियन्त्रणमा लिएका थिए । दाहालका अनुसार प्रहरीमाथि आक्रमण गर्ने ७ जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा कटहरी गाउँपालिका–२ का २६ वर्षीय मनिष दास, १९ वर्षीय सुरजकुमार मण्डल, छोटुकुमार मुखिया, ४२ को सुरेन्द्र साह, कटहरी–५ का ४५ वर्षीय प्रकाश बस्नेत तथा विराटनगर महानगरपालिका–८ का २६ वर्षीय विकास साह र राहुल मण्डल छन् ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
विराटनगर महानगरपालिका र कटहरी गाउँपालिकाको सीमा भएर बग्ने सिंघिया खोला किनारनजिक गाँउपालिकातर्फ प्रत्येक बुधबार हटिया लाग्दै आएको थियो ।
व्यवस्थित गर्नेभन्दै गाउँपालिकाले हटियालाई सारेर कटहरी–१ स्थित जमकोटीमा रहेको फलफूल तथा थोक तरकारी बजारमा लैजाने निर्णय गरेको थियो ।
फलफूल तथा तरकारी व्यापारी गाउँपालिकाको उक्त निर्णयविरुद्ध उत्रिएका हुन् । व्यापारीहरुले नयाँ ठाउँमा हटिया लैजाँदा सबैलाई पायक नपर्ने बताउँदै आएका छन् ।
गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले व्यवस्थित गर्नका लागि हटिया स्थानान्तरणको निर्णय लिएको बताए ।
कटहरी–१ स्थित जमकोटीमा फलफूल तथा थोक तरकारी बजार २०७५ साल चैत्र महिनामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।
संघीय सरकारले बनाएको बजार सञ्चालनको जिम्मेवारी प्रदेश सरकारलाई दिइएको छ । विराटनगरमा लाग्दै आएको गुद्री बजार सार्ने तयारीका साथ फलफूल तथा थोक तरकारी बजार निर्माण गरिएको थियो ।
गुद्रीका व्यापारी भने उक्त स्थानमा सर्न मानेनन् । अहिले विराटनगर महानगरपालिका–११ स्थित मेयर नागेश कोइरालाको जग्गा भाडामा लिएर गुद्री बजार सञ्चालित छ । मेयर कोइरालाकै असहयोगका कारण गुद्री बजार कटहरी सर्न नसकेको भनेर आलोचना हुने गरेको छ ।
गुद्री सञ्चालनका लागि व्यापारीलाई उनले आफ्नो जग्गा भाडामा दिएपछि बजार कटहरी सर्न सकेको छैन । गुद्री बजारका व्यापारीले पनि कटहरी जान मानिरहेका छैनन् ।
व्यापारी जान नमान्दा कृषि बजार ५ वर्षदेखि प्रयोगविहीन छ । अलपत्र अवस्थामा छ । सुविधा सम्पन्न संरचनाहरु जीर्ण बन्दै गएका छन् ।
बजारमा थोक विक्रेताका लागि ४० वटा र खुद्रा विक्रेताका लागि ३५ वटा स्टलसहित प्रशासनिक भवन निर्माण गरिएको थियो । ४५ हजार मेट्रिक टन तरकारी र ८ हजार मेट्रिक टन फलफूल भण्डार क्षमताको बजार निर्माणमा सरकारले १७ करोड रूपैयाँ खर्चिएको थियो ।
प्रतिक्रिया