पीसीआर ल्याब प्रादेशिक अस्पताललाई हस्तान्तरण

शनिबार, ०६ साउन २०८०
झापा । झापाको कनकाई-४ कोटीहोमस्थित समर्पण राष्ट्रिय अभियानको भवनमा रहेको पीसीआर ल्याबको सम्पूर्ण सामग्री प्रादेशिक अस्पताल भद्रपुरलाई हस्तान्तरण गरिएको छ । झापामा कोरोना सङ्क्रमण समुदायसम्म देखिन थालेपछि तीन वर्षअघि मेची प्रादेशिक अस्पताल भद्रपुरको स्वामित्वमा रहने गरी कोटीहोममा ‘एकका लागि एक अभियान’ को पहलमा पीसीआर ल्याब सञ्चालनमा आएको थियो । हाल कोरोना संक्रमण नियन्त्रण भइसकेको अवस्थामा कोटीहोमस्थित पीसीआर ल्याब प्रयोगबिहिन हुन थालेपछि त्यहाँ रहेका बहुमुल्य सामग्री प्रादेशिक अस्पतालमा हस्तान्तरण गरिएको ‘एकका लागि एक अभियान’ का संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिए । ‘एककालागि एक अभियान’, कनकाई नगरपालिका र प्रादेशिक अस्पतालबीच भएको सहमति बमोजिम प्रादेशिक अस्पतालले आफ्नो दोस्रो प्रयोगशालाको रुपमा उक्त ल्याबलाई सञ्चालनमा ल्याएको थियो । हाल संक्रमण नियन्त्रण भइसकेको अवस्थामा उपकरणलाई आवश्यकता अनुसार अस्पतालले प्रयोगमा ल्याउन सक्ने भएकाले स्वास्थ्यसँग सम्बन्धित उपकरण अस्पताललाई हस्तान्तरण गरिएको अभियानका संयोजक गिरीले बताए। कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको उपस्थितिमा अभियानका संयोजक गिरी र प्रादेशिक अस्पतालका ल्याब इन्चार्ज जितेन्द्र झा सहितको हस्ताक्षरमा ल्यावका विभिन्न जिन्सी सामग्रीको सूचीसहित अस्पताललाई हस्तान्तण गरिएको हो । ल्याब सञ्चालनको आर्थिक व्यवस्थापन कनकाई नगरपालिकाको तर्फबाट भएको हो । संक्रमणकालीन अवस्थामा कोटीहोमबाट पीसीआर ल्याब सञ्चालनमा आएसँगै तीन वर्षको अवधिमा ९ हजार ३ सय ४१ जनाको निशुल्क नमुना परीक्षण भएको थियो । त्यस्तै ३९ हजार ५ सय २५ जनाको सशुल्क गरी जम्मा ४८ हजार ८ सय ६६ नमुना परीक्षण भएको ल्यावको व्यवस्थापन तर्फका स्वास्थ्यकर्मी ईन्द्रहरी भट्टराईले जानकारी दिए । कोटीहोमस्थित पीसीआर ल्याबमा झापासहित इलाम, पाँचथर, ताप्लेजुङ साथै मोरङको केही भागबाट समेत सङ्कलित नमुना परीक्षण भएको भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार