विराटनगर । विराटनगर महानगरपालिका– ५ का रोहित चौधरीको हत्यापछि उनको परिवार शोकाकूल बनेको छ । जन्म दिनकै दिन शुक्रबार हत्या गरिएका २८ वर्षीय चौधरी साँझ जन्म दिनको कार्यक्रम घरमा मनाउने योजनामा थिए । बिहान भने साथीसँग घुम्न निस्किएका थिए ।
साँझ उनको जन्म दिनमा कार्यक्रम गर्न तयार भएका परिवारले एकाएक उनको मृत्युको खबर पाए । शनिबार दिउँसो उनको शव ल्याउनु अघिसम्म मृत्युबारे उनकी आमालाई खबर सुनाइएको थिएन । जब थाहा पाइन्, त्यसयता अर्थचेत अवस्थामा छिन् ।
धनकुटाको मूलघाटबाट फर्कदै गर्दा सुनसरीको इटहरी–धरान सडक खण्डको सेउती पुल नजिक तीन जनाको समूहले रोहितमाथि गोली प्रहार गरेको थियो । गोलीले गम्भीर घाइते भएका उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भयो । उनीसँगै घुम्न गएकी साथी सामान्य घाइते छिन् ।
रोहित परिवारका जेठा छोरा हुन् । परिवार पाल्ने जिम्मेवारी उनी र उनका माइलो भाइसँग थियो । कान्छो भाई पढ्दैछन् ।
रोहित पाँच वर्षदेखि नोबेल मेडिकल कलेजमा काम आएका थिए । उनको घर विराटनगर महानगरपालिका– ५ सम्झना चोकमा पर्छ । रोहितको हत्याको खबर पाएपछि उनको परिवार र टोल शोकमा डुबेको छ । उनका बुबा काठका मिस्त्री हुन् । हजुरबुबा रामबहादुर चौधरी प्यारालाइसिसका कारण १७ वर्षदेखि ओछ्यान परेका छन् ।
लुटपाटका लागि आएको समूहले रोहितमाथि गोली प्रहार गरेको प्रहरीको भनाई छ । हत्यामा संलग्नको खोजी भइरहेको सुनसरी प्रहरी प्रवक्ता डीएसपी राजकुमार राईले बताए ।
प्रतिक्रिया