मोरङ प्रशासन परिसरमा युवकले गरे विष सेवन

आइतबार, ०७ साउन २०८०
विराटनगर । चेक बाउन्स मुद्दामा फरार रहेका एक युवाले जिल्ला प्रशासन कार्यालय मोरङ परिसरमा आइतबार विष सेवन गरेका छन् । मोरङको कटहरी गाउँपालिका–३ का ३२ वर्षीय विनित सोनारले दिउँसो ४ बजेतिर कीटनाशक औषधि सेवन गरेका हुन् । प्रहरीले खोजी गरिरहेका उनी जिल्ला प्रशासन कार्यालय पुगेका थिए । त्यसको जानकारी पाएपछि पक्राउ गर्न प्रहरी त्यहाँ पुगेको थियो । पक्राउ गर्न प्रहरी आएको थाहा पाउनसाथ गोजीमा बोकेको कीटनाशक विषादी सेवन गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । उनले ‘ट्रिक्कल’ नामक विषादी सेवन गरेका थिए । प्रहरीले तत्काल उपचारका लागि कोसी अस्पताल लगेको थियो । सिकिस्त अवस्था भएकाले कोसीमा उपचार हुन नसकेपछि विराटनगरकै नोबेल शिक्षण अस्पताल पुर्याइएको दाहालले बताए । उनको उपचार भइरहेको छ । माटोको ठेक्कापट्टा गर्दै आएका सोनारविरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङमा चेक बाउन्ससँग सम्बन्धित २ वटा जाहेरी अलगअलग मितिमा परेको थियो । विराटनगर महानगरपालिका–१२ का प्रदीप भुजेलले २०७९ चैत २६ गते र विराटनगर–१ का विनोद ढकालले गत जेठ २२ गते उनीविरुद्ध किटानी जाहेरी दिएका थिए । भुजेलले २ लाख र ढकालले ६ लाख रकम उल्लेख गरेर जाहेरी दिएपछि प्रहरीले अलगअलग पक्राउ पूर्जी जारी गरेको थियो । प्रहरीले भुजेलको जाहेरीका आधारमा गत वैशाख २९ गते र ढकालको जाहेरीका आधारमा असार १ गते अदालतबाट पक्राउ अनुमति लिएको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार