पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई पाँच वर्ष राजनीतिमा प्रतिबन्ध

बुधबार, २४ साउन २०८०
काठमाडौं । पाकिस्तानको निर्वाचन आयोगले भ्रष्टाचारको अभियोगमा जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानलाई पाँच वर्षका लागि राजनीतिमा प्रतिबन्ध लगाएको छ । तोशखाना भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै अदालतले तीन वर्षको जेल सजाय सुनाएको तीन दिनपछि निर्वाचन आयोगले खानलाई पाँच वर्षका लागि सार्वजनिक पद धारण गर्नमा अयोग्य ठहर गरेको हो । आयोगले मंगलबार अबेर एक सूचना जारी गर्दै संविधानको धारा ६३-१ र निर्वाचन कानुन २०१७ को दफा २३२ बमोजिम खानलाई अयोग्य घोषणा गरिएको जनाएको हो । आयोगले जारी गरेको सूचनामा खानलाई उनको चुनाव क्षेत्रबाट निर्वाचित उम्मेदवारको सूचीबाटसमेत हटाइएको उल्लेख गरिएको छ । यसको अर्थ खानको संसद सदस्यता पनि रद्द हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । यसैबीच खानको दल पाकिस्तान तहरिक ए इन्साफ पार्टीका प्रवक्ता जुल्फिकार बुखारीले आयोगको उक्त निर्णयको भर्त्सना गरेका छन् । उनले आयोगको निर्णयविरुद्ध अदालत जाने र अदालतले उक्त निर्णय उल्टाइ दिने विश्वास व्यक्त गरेका छन् । भ्रष्टाचार मुद्दामा तल्लो अदालतले शनिबार सुनाएको तीन वर्षे सजायविरुद्ध खानका वकिलहरुले इस्लामाबाद उच्च अदालतमा अपिल गरिसकेका छन् । उक्त अपिलमाथि आज सुनुवाइ हुँदैछ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार