चुलाचुली (इलाम) । इलामको चुलाचुली २ मा डेंगीका बिरामी फेला पर्न थालेसँगै मच्छड मार्ने अभियान सुरु भएको छ ।
वडाध्यक्ष लक्ष्मण श्रेष्ठले डेंगी नियन्त्रणका लागि औषधि वितरण गर्न थालेका हुन् ।
सीमित श्रोत साधनका बीच नियन्त्रणको पहल थालिएको उनले बताए । गाउँमा करिब २० जनामा यसको संक्रमण देखा परेको छ । यसलाई नियन्त्रण गर्न अल्फा साइपर मेट्रिन नामक मच्छड मार्ने औषधि घरघरमा वितरण गरिएको उनले बताए ।
गाउँपालिका मार्फत प्राप्त भएको औषधि मच्छड मार्न प्रयोग गरिँदै आइएको छ । जिल्ला स्वास्थ्य कार्यालय इलामले गाउँपालिमामा पठाएको सो औषधि टोलटोलमा वितरण गरिएको जनाएको छ ।
हाल टोलटोलमा लामखुट्टेको लार्भा मार्ने अभियान सञ्चालन गरिएको छ । वडाध्यक्ष श्रेष्ठले ब्यक्तिगत खर्चमा पनि लामखुट्टेको लार्भा मार्ने अभियान सञ्चालन गरेका छन् ।
स्वास्थ्य कार्यालयले पठाएको सो सामाग्री पर्याप्त नभएपछि वडाध्यक्ष श्रेष्ठ आफैँले ब्यक्तिगत खर्चमा ४० प्याकेट सामग्री खरिद टोलटोलमा लार्भा मार्ने काम गरिरहेका छन् ।
अभियान जारी रहे पनि पर्याप्त मात्रामा स्वास्थ्य कार्यालयबाट औषधि प्राप्त नभएको वडाध्यक्ष श्रेष्ठले बताए । एक सय ७० पोका औषधि वडालाई प्राप्त भएको र सोही वितरण गरिएको उनले बताए ।
तीनदेखि चार घरका लागि प्रयोग गर्नेगरी एक पोकाका दरले सो औषधि वितरण गरिएको उनको भनाई छ ।
सुरुमा वितरण गरिएको सामग्री अपुग भएपछि वडावासीले सो औषधि नपाएको भन्दै गुनासो गर्न थालेपछि ब्यक्तिगत खर्चमा सामग्री गरिएको उनको भनाई छ ।
डेंगु संक्रमणबाट बच्न झुलको प्रयोग गर्न र घर छेउछाउमा रहेका खाल्डाखुल्डी पुर्न समेत वडाले वडाबासीहरुमा अनुरोध गरेको छ ।
प्रतिक्रिया