काठमाडौं । क्यानाडाले एकजना शिख नेताको हत्या आरोपमा भारतका एक कूटनीतिज्ञलाई देश निकाला गरेको छ।
क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सोमबार संसदमा सम्बोधन गर्ने क्रममा भारत सरकारको एजेन्टले जून महिनामा क्यानाडाको ब्रिटिश कोलम्बियामा शिख समुदायका नेता हरदीप सिंह निज्जरको हत्या गरेको बताएका थिए।
उनले भारतमा सेप्टेम्बर ९ र १० मा आयोजित जी–२० बैठकको बेला आफूले यो मुद्दालाई प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष उठाएको जानकारी पनि दिएका थिए।
लगत्तै क्यानाडाका विदेशमन्त्री मेलानी जोलीले भारतका वरिष्ठ कूटनीतिज्ञलाई देश निकाला गरिएको जानकारी दिएकी हुन्।
‘सीबीसी’ ले देश निकाला गरिएका भारतीय कूटनीतिज्ञ पवनकुमार राय रहेको दाबी गरेको छ।
उता, भारतले क्यानाडाको आरोपको खण्डन गरेको छ। भारतीय विदेश मन्त्रालयले भनेको छ, ‘क्यानाडामा कुनै पनि प्रकारको हिंसामा भारत सरकार संलग्न भएको आरोप लगाउनु हास्यास्पद छ।’
क्यानाडाका प्रधानमन्त्री ट्रुडोले क्यानाडाभित्र कुनै पनि नागरिकको हत्या गराउन विदेशी सरकार संलग्न हुनु आफ्नो देशको सम्प्रभूताको उल्लंघन भएको टिप्पणी गरेका छन्।
उनले यो हत्याबारे अनुसन्धानका लागि भारतलाई दबाव दिने पनि बताएका छन्।
क्यानाडामा भारतीय मूलका १४ लाख बढी नागरिक रहेको मानिन्छ। त्यीमध्ये धेरैजसो शिख समुदायका छन्। क्यानाडामा विपक्षी दल न्यू डेमोक्रेटिक पार्टीका नेता शिख समुदायकै जगमित सिंह छन्।
भारतले पनि गर्यो क्यानेडियन कूटनीतिज्ञलाई निष्कासन
सिख समुदायको हत्यामा संलग्न रहेको आरोप लगाउँदै क्यानाडाले भारतीय कूटनीतिज्ञलाई निष्कासन गरेपछि भारतले पनि क्यानाडाका वरिष्ठ कूटनीतिज्ञलाई देश निकाला गरेको छ।
क्यानाडाका कूटनीतिज्ञलाई भारत छाड्न पाँच दिनको समय दिइएको छ।
भारतीय परराष्ट्र मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘भारतले क्यानेडियन कूटनीतिज्ञलाई निष्कासन गरेको छ। क्यानाडाका उच्चायुक्तलाई भारत सरकारको यो निर्णयबारे जानकारी गराइएको छ। सम्बन्धित कूटनीतिज्ञलाई पाँच दिनभित्र भारत छोड्न भनिएको छ।’
उक्त निर्णयले भारतको आन्तरिक मामिलामा क्यानेडियन कूटनीतिज्ञहरूको हस्तक्षेप र भारतविरोधी गतिविधिहरूमा उनीहरूको संलग्नतामा भारत सरकारको बढ्दो चिन्तालाई प्रतिबिम्बित गर्ने उनले जनाएका छन्।
यसअघि भारतीय विदेश मन्त्रालयले भारतस्थित क्यानेडियन उच्चायुक्तलाई बोलाएको थियो। क्यानाडाका उच्चायुक्त क्यामरुन म्याकी नयाँ दिल्लीको साउथ ब्लकस्थित विदेश मन्त्रालयको मुख्यालय पुगेका थिए।
प्रतिक्रिया