इलाम नगरपालिकाले सुरु गर्यो मेची राजमार्ग मर्मत

मंगलबार, ०९ असोज २०८०
  इलाम । सडकक मर्मत नभएको भन्दै आलोचना बढ्न थालेपछि मेची राजमार्गको माइखोला–भञ्ज्याङ खण्ड मर्मत इलाम नगरपालिकाले काम थालेको छ । सडक दबिने र भासिने क्रम नरोकिँदा यात्रुलाई समस्या हुँदै आएको छ । यो सडकमा गाडी गुड्न समस्या हुन थालेपछि इलाम नगरपालिकाले मर्मत गर्न थालेको हो । पक्की सडक कच्चीमा परिणत हुन थालेपछि बर्खामा हिलो र हिउँदमा धुलो उड्ने गरेको छ । मझौला सवारी दुःखसुख चलेपनि साना तथा ठूला सवारीलाई यो सडकमा समस्या हुँदै आएको छ । सडक भासिएर आवागमन अवरुद्ध हुने गरेको छ । झापाको चारआलीदेखि ताप्लेजुङसम्म यो सडक पुगेको छ । ४ जिल्ला जोड्ने सडकको काम गर्न सम्वन्धित पक्षले बेवास्ता गरेपछि इलाम नगरपालिकाले मर्मत गर्न थालेको हो । माइखोला राजदुवालीदेखि भञ्ज्याङसम्म करिब ३ किलोमिटर खण्डमा पर्ने मेची राजमार्ग धेरै स्थानमा बिग्रिएको छ । कालोपत्रे भत्किएर सडक भासिएको छ । सडकको धरै स्थानमा खाल्डा परेको छ भने कतिपय स्थानमा सडक भासिएर आधाभन्दा बढी भाग दबेको छ । अब यस सडकको बिकल्प खोज्न बाध्य हुनु परेको इलाम नगरपालिकाका प्रमुख केदार थापाको भनाई छ । यसअघि राजमार्ग मर्मत र निर्माणका लागि मन्त्रालयमा पत्राचार समेत गरिसकिएको उनले बताए । हिउँदमा सामान्यतया सडकमा सवारी चलेपनि बर्खायाममा समस्या हुने गरेको छ । सुरुमा अस्थायी रुपमा भएपनि सवारी आवतजावतमा सहज होस भनेर ग्राभेलको काम थालिएको छ । पर्यटकीय जिल्ला इलाममा सावा सवारी आउन नसक्दा पर्यटन ब्यवसायी समेत मारमा पर्ने गरेका छन् । इलाम भएर पाँचथर हुँदै ताप्लेजुङ जाने यात्रुलाई समेत यो सडक प्रयोग गर्नु पर्ने बाध्यता छ । यो सडकमा मोटो रकम खर्च भएर पनि गुणस्तरको बाटो निर्माण हुन नसकेको भनेर बैकल्पिक मार्ग निर्माण गरिनुपर्ने स्थानीयको माग हुन थालेको छ । सघीय सरकारले सडक परिवर्तन चासो नदेखिएकोले स्थानीय सरकार आफैले अग्रसरता लिएको इलाम नगरपालिका वडा न ९ का वडा अध्यक्ष गोपाल चौहानको भनाई छ । सामान्य सडक बिग्रँदा पनि स्थानीय तथा बाहिरबाट आएकाहरुले स्थानिय सरकारलाई नै दोषी देखाउन थालेपछि आफूहरु नै सडक मर्मतमा जुटेको उनको भनाई छ । सुरुमा ग्राभेल गरेर काम अगाडि बढाइएको छ । साना तथा ठूला सवारी सञ्चालन हुनेसम्म आफूहरुले काम गर्ने उनको भनाई छ । यसअघि सडकको भित्तामा २४ मिटर रट छिराएर समेत यसको मर्मत गरियो । रक एंकरिङ पद्दतिबाट समेत काम गरिए पनि प्रभावकारी हुन सकेको छैन ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार