बिना धितो मूल्याङ्कन बिना नै जथाभावी रूपमा आसेपासे र चिनजानकै भरमा लगानी गर्नुले पनि सहकारी संस्थाहरू डुब्दै गएको जानकारहरू बताउँछन् । यसको ज्वलन्त उदाहरणका रूपमा अम्बे कोशी बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई लिन सकिने इटहरी उपमहानगरपालिकाका सहकारी शाखा प्रमुख बालकुमार पोखरेलले बताए । उनले प्रदेश खबरसँग भने, ‘अम्बे कोशी कै कुरा गर्दा पनि पैसा नभएको हैन । बचत भएको बचतकर्ताको पैसा गैरकानुनी ढङ्गले सञ्चालक समिति भित्रकै पदाधिकारीहरूलाई बिना धितो, धितो मूल्याङ्कन भन्दा बढी, ऋण प्रवाह गरेपछि सङ्कटको अवस्था सिर्जना भएको हो । जुन नियमसंगत पनि छैन ।’
३७ करोडको हाराहारीमा बचतकर्ताहरूको रकम फिर्ता गर्न नसकेको अम्बे कोशी सहकारीबाट पीडितहरूले अहिले सङ्घर्ष समिति नै बनाएर चरणबद्ध आन्दोलनसमेत सुरु गरेका छन् । उनीहरूले प्रदेश सहकारी रजिस्ट्रार कार्यालय घेराउ गर्नेदेखि सहकारीमा तालाबन्दी गर्ने काम समेत गरिसकेका छन् । सङ्घर्ष समितिका अध्यक्ष समेत रहेका बचतकर्ता दुर्गाप्रसाद कोइराला भन्छन्, ‘हामी अब आन्दोलन सँगै कानुनी प्रक्रियामा पनि जान्छौँ । हामीले न्याय पाउनु पर्यो, बचत फिर्ता रकम हुनु पर्यो।’ सहकारी संस्थाले बचतकर्ताको रकम फिर्ता गर्न नसक्दा पाँच हजार बढी सेवाग्राही मार्कामा परेका छन् ।
पछिल्लो समय सहकारी भन्ने बित्तिकै मानिसको नजरमा नकारात्मक मानसिकता पैदा हुने गरेको जिल्ला सहकारी संघ सुनसरीका अध्यक्ष गङ्गाप्रसाद दाहाल बताउँछन् । उनी भन्छन्, ‘यहाँ अन्य धेरै राम्रा सहकारीहरू पनि छन् जसलाई समेत केही तत्त्वहरूले बदनाम गराउँदै छन् । यहाँ नियमसंगत चलेका सहकारीहरूलाई कोभिड महामारी त्यस पछिको आर्थिक सङ्कटले पनि केही असर गरेको छैन ।’ सहकारीले जसरी पनि बचतकर्ताको रकम फिर्ता गर्नुपर्ने उल्लेख गर्दै उनले सहकारीलाई विश्वासिलो बनाई पहिलेकै अवस्थामा फर्काउन सरकारले विशेष पहल गर्नुपर्ने बताए । बचतकर्ताले पनि साधरणसभामा विशेष प्रश्न गर्नुपर्ने र सही नेतृत्वको चयन गर्नुपर्ने उनको तर्क छ ।
प्रतिक्रिया