मुख्यमन्त्री कार्कीले पाउलान् त विश्वासको मत ?

बुधबार, १७ असोज २०८०
इटहरी । असोज २० गते शनिवार लिने भनिएको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको विश्वासको मत माथि प्रश्न चिन्ह्र खडा भएको छ । बुधबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहमति जुटेसँगै मुख्यमन्त्री कार्कीले शनिवार विश्वासको मत लिन लागेका हुन् । संविधानको धारा १६८को उपधारा ३ अनुसार कार्की गतभदौ २२ गते मुख्यमन्त्री बनेका थिए । संविधान अनुसार मुख्यमन्त्री भएको ३० दिनभित्र अर्थात् यही २० गतेभित्र कार्कीले विश्वासको मत लिइसक्नुपर्छ । तर, उनले लिने भनेको विश्वासको मत माथि नै प्रशन चिन्ह्र खडा भएको हो । प्रदेशसभामा एमालेका ४० सांसद छन् । तर, उपसभामुख सिर्जना दनुवारले सभाको अध्यक्षता गर्दा मतदान गर्न मिल्दैन । दनुवारले मत नहालेपछि एमालेका ३९ मात्रै सांसद कार्कीको पक्षमा हुनेछन् । एमालेको गठबन्धनमा राष्ट्रिय प्रजातन्त्र पार्टी पनि छ । तर, राप्रपाले कार्कीले विश्वासको मत पाउने आधार भएमा साथ दिने जनाएको छ । राप्रपाले मत दिँदा पनि कार्कीको पक्षमा ४५ मत मात्रै हुन्छ । ९३ सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि ४७ सांसद चाहिन्छ । यो अवस्थामा मुख्यमन्त्री कार्कीलाई विश्वासको मत पाउन सकस देखिएको हो । यता नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहितको गठबन्धनबाट मुख्यमन्त्री नियुक्त भएका उद्धव थापाले विश्वासको मत लिँदा सभाध्यक्षको पनि मत खसेपछि सर्वोच्च अदालतले उनलाई पदमुक्त गर्दै कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेको थियो । कार्कीले यसअघि विश्वासको मतका लागि एकीकृत समाजवादीसँग पनि संवाद गरेका थिए । तर, बुधबार मात्रै समाजवादीका अध्यक्ष माधव नेपालले अहिलेको गठबन्धनबाट दायाँबायाँ नहुने बताएका छन् । कार्कीले विश्वासको मत नपाए संविधानको धारा १६८ को उपधारा ५बाट सरकार बनाउनुपर्ने हुन्छ । जहाँ प्रदेशसभाको जुनकुनै सदस्यले बहुमत सांसदको हस्ताक्षर जुटाएर मुख्यमन्त्री हुन सक्छन् । प्रदेशसभा सदस्यहरुलाई दलीय ह्विप नलाग्ने हुँदा जुनसुकै दलले सरकार बनाउन सक्छ । कोशीमा मध्यावधि भए अहिलेभन्दा १५ सिट वढी जित्ने ओलीको दावी । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेशमा २० गतेसम्ममा एमाले नेतृत्वको सरकारले विश्वासको मत लिनुपर्ने बताउँदै आफ्नो पार्टीबिरुद्ध घेराबन्दी र षड्यन्त्र भएपनि आत्तिन नपर्ने बताएका छन् । कोशी प्रदेशमा मध्यावधि भए अहिलेको भन्दा १५ सिट बढी जित्ने दावी गरेका ओलीले मध्यावधि हुन्छ कि भनेर कोही आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार