मोरङमा सवारीसाधनको गति पत्ता लगाउन ‘राडार गन’को प्रयोग

आइतबार, २१ असोज २०८०
बिराटनगर/मोरङमा सवारीसाधनको गति पत्ता लगाउन ‘राडार गन’को प्रयोग विराटनगर मोरङमा ट्राफिक प्रहरीले सवारीसाधनको गति पत्ता लगाउन ‘राडार गन’ प्रयोगमा ल्याएको छ । ‘राडार गन’ सवारीसाधनको गति मापन गर्ने उपकरण हो । तीव्र गतिका कारण सवारी दुर्घटना बढेसँगै दुर्घटना न्यूनीकरणका लागि लोकमार्ग तथा भित्री सडकखण्डमा ट्राफिकले विशेष उपकरण प्रयोग गरेर गति नियन्त्रणको प्रयास थालेको छ । मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेले तीव्र गतिका कारण बढेको दुर्घटना न्यूनीकरण गर्न अत्याधुनिक ‘राडार गन’ प्रयोगमा ल्याइए सडकका सवारीसाधनमाथि निगरानी बढाइएको जानकारी दिए ।
उनका अनुसार सवारीसाधनको गति मापन गर्ने भएकाले चालकलाई गति कम गर्नलाई अभिप्रेरित गर्न ‘राडार गन’ले मद्धत गर्छ । तीव्र गतिमा सवारी चलाउने चालकलाई ट्राफिक नियम उल्लंघनको कसूरमा कारबाहीसमेत गर्न थालिएको उनको भनाइ छ ।
ट्राफिक प्रहरीले मापसे (मादक पदार्थ सेवन) र लापसे (लागू पदार्थ सेवन) परीक्षणलाई निरन्तरता दिइरहेको छ । ‘ब्रेथलाइजर मेसिन’को प्रयोगमार्फत मापसे र विशेष किटमार्फत लापसे परीक्षण गरिन्छ । मापसे र लापसे गरेर सवारीसाधन चलाउँदा दुर्घटना बढेको थियो । ट्राफिकले चेकजाँच बढाएपछि मापसे र लापसेका कारण हुने दुर्घटनामा कमी आएको न्यौपानेले बताए । उनका अनुसार पछिल्लो समय दुर्घटनाको मुख्य कारण नै तीव्र गति तथा चालकको लापरबाही हो । अत्यधिक गति नियन्त्रण गर्न ‘राडार गन’को प्रयोग गरेर सवारीसाधनको गति मापन गर्न थालिएको उनको भनाइ छ ।
साथै, दुर्घटना न्यूनीकरणका लागि विभिन्न सचेतनामूलक कार्यक्रम पनि ट्राफिक प्रहरीले सञ्चालन गरिरहेको छ । सवारी दुर्घटना हुन नदिन सचेत गराउने उदेश्यले चालक लक्षित चेतनामूलक कार्यक्रमका साथमा विशेष उपकरणको प्रयोग गरेर सडकमा निगरानी बढाइएको प्रनि न्यौपाने बताउँछन् । उनका अनुसार दुर्घटना न्यूनीकरण अभियानलाई निरन्तरता दिइने छ । ‘राडार गन’ले ३ सय मिटर वरपर गुडिरहेका सवारीको गतिका बारेमा संकेत दिन्छ । ‘तीव्र गतिमा रहेको सवारीसाधनको नम्बरसहितको फोटो ‘राडार गन’ले खिच्छ,’ उनले भने, ‘फोटो खिच्नलाई तीव्र गतिको सवारीसाधन १ सय मिटरको दूरीमा आइपुगेको हुनुपर्छ ।’ मेसिनले सवारीको तीव्र गति पत्ता लगाएपछि चालकलाई सम्झाइबुझाइ गर्ने र गल्ती दोहोर्याउनेलाई कारबाहीको दायरामा ल्याउने गरिएको जानकारी न्यौपानेले दिए । अनुसार नजिकिँदो चाडपर्वलाई लक्षित गरेर सडकमा ट्राफिक चेकजाँच तीव्र पारिएको उनले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार