कोसीमा हस्ताक्षर सनाखतपछि आज मुख्यमन्त्री नियुक्त गरिँदै

शनिबार, २७ असोज २०८०
विराटनगर/कोसी प्रदेशमा मुख्यमन्त्री नियुक्तिका लागि समर्थन गरेका सांसदको आज हस्ताक्षर सनाखत गराइँदै छ । प्रदेश प्रमुखको कार्यालयले हस्ताक्षरको सनाखतको तयारी गरेको हो । मुख्यमन्त्रीमा समर्थन गर्ने सांसदको हस्ताक्षर सनाखत गरेपछि मुख्यमन्त्री नियुक्त गरिने भएको छ । यही बहानामा नियुक्ति शुक्रबार रोकिएको थियो । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्र श्रेष्ठले हस्ताक्षर सनाखतपछि मुख्यमन्त्री नियुक्ति गर्ने तयारी रहेको जानकारी दिए । उनका अनुसार बिहान ८ बजेदेखि सनाखस सुरु हुने छ । सनाखतको समय दिउँसो २ बजेसम्मलाई छुट्याइएको छ । मुख्यमन्त्रीको दाबीकर्ताका समर्थक सांसदलाई प्रदेशसभाको परिचयपत्रसहित उपस्थित हुन आह्वान गरिएको श्रेष्ठले बताए । संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुख पर्शुराम खापुङले दिएको समयसीमा शुक्रबार साँझ ५ बजे सकिएको थियो । समय सकिँदा पनि मुख्यमन्त्री नियुक्ति प्रक्रिया अघि नबढाएका खापुङले समर्थन गर्ने सांसदको हस्ताक्षर सनाखतको अड्को थापेका हुन् । प्रदेशको मुख्यमन्त्रीमा एमालेको सार्थनमा कांग्रेसको संस्थापनइतरका केदार कार्की र गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बिहीबार नै दाबी पेस गरेका थिए । कार्कीले संवैधानिक व्यवस्था अनुसार आधिकारिक हिसाबले मुख्यमन्त्री दाबी गरेको देखिन्छ । तर, सनाखतको नाममा मुख्यमन्त्री नियुक्त नगरेपछि गठबन्धनबाट परिचालित भएको आरोपको भारी प्रदेश प्रमुखले बोक्दैछन् । कांग्रेसको संस्थापनइतरका ८ र एमालेका ३९ जना सांसदको समर्थनमा बहुमत पु¥याउँदै कार्कीले मुख्यमन्त्री दाबी गरेका थिए । आङ्बोले पनि कांग्रेसका २९, माओवादीका १३, नेकपा (एकीकृत समाजवादी)का ४ र जनता समाजवादी पार्टी (जसपा)का १ सांसदको हस्ताक्षर बुझाएर मुख्यमन्त्री दाबी गरेका हुन् । कार्कीसहित उनलाई साथ दिएका सांसदको हस्ताक्षर दुरुपयोग गरेको आरोप खेपिरहेका आङ्बोको दाबी आधिकारिक हुन नसक्ने बताइन्छ । त्यसले मुख्यमन्त्रीमा कार्कीको दाबी बलियो बनाएको छ । कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्नुपर्ने माग राख्दै उनलाई समर्थन गरेका सांसदहरुले प्रदेश प्रमुखको कार्यालयमा पुगेर दबाबसमेत दिएका थिए । दबाब दिन कार्की समर्थक सांसदहरु आफूहरुको नाम र हस्ताक्षरसहित सशरीर पुगेका थिए । संविधान र सर्वोच्चको फैसला बमोजिम संवैधानिक प्रक्रिया पूरा गरेर दाबी गरिएका कारण कार्कीलाई मुख्यमन्त्री नियुक्त गरिनुपर्ने दबाब पनि बढेको छ । तर, कार्कीलाई दाबी फिर्ता गर्न लगाउन गठबन्धनका शीर्ष नेतृत्व सक्रिय छ । त्यसकै इशारामा प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्ति एक दिनपछि धकेलेको स्रोतले बतायो । प्रदेशमा ६ जना सांसद रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने नयाँ सरकार गठनका विषयलाई लिएर तटस्थ बसेको छ । कोसीको ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार