विराटनगर/मोरङको पथरीशनिश्चरेमा शंकास्पद मृत्यु भएको अवस्थामा एक जना महिलाको शव फेला परेको छ ।
पथरीशनिश्चरे नगरपालिका–१ हुमानचोकमा परिवारसहित डेरामा बस्दै आएकी अन्दाजी २५ वर्षीया चाँदनी चौधरीको शव ओछ्यानमा सुतिरहेको अवस्थामा सोमबार दिउँसो २ः४५ बजेतिर भेटिएको हो । मृतकको घाँटी कसेको र टाउकोमा कुनै वस्तुले प्रहार गरेजस्तो देखिने चोट रहेको प्रहरीले जनाएको छ ।
घटनाको प्रकृति हेर्दा महिलाको हत्या भएको हुनसक्ने आशंका गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताए ।
उनका अनुसार हत्या गरेपछि शव लगेर ओछ्यानमा राखिदिएको वा ओछ्यानमै घाँटी कसेर र कुनै वस्तुले हिर्काएर हत्या गरेको हुनसक्ने अनुमान गरिएको छ । यद्यपि, अनुसन्धानपछि घटनाको वास्तविकता पत्ता लाग्ने दाहालले बताए ।
कोठा भाडामा लिएर चाँदनीसहित उनका पति अन्दाजी ३५ वर्षीय मुकेश चौधरी र २ नाबालक छोराहरु बस्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । स्थानीय प्रेमबहादुर श्रेष्ठको घरमा २ महिनादेखि डेरा बस्दै आएकी चाँदनीले पानीपुरी र चटपटेको व्यापार गर्ने गर्थिन् ।
घरको ओछ्यानमा सुतिरहेको तथा शरीरमा चोटपटक रहेको अवस्थामा शव फेला परेपछि प्रहरीले घटनालाई शंकास्पद मानेको हो । कोठाभित्र ओछ्यानमा चाँदनीको शव भेटिएपनि उनका पति र नाबालक छोराहरु घरमा नभएको पाइएको छ । पति र नाबालक छोराहरु कहाँ छन् भन्ने यकिन भइसकेको छैन ।
घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पथरीका इन्सपेक्टर सुशील पाण्डे नेतृत्वको टोली खटिएको छ । शवलाई पोस्टमार्टमका लागि पठाएर विभिन्न कोणबाट घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया