कोशीमा सहमतीय सरकारका लागि पहल पुगेन : नेपाल

शनिबार, १८ कार्तिक २०८०
विराटनगर नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सहमतीय सरकार निर्माणमा लागि आवश्यक पहल नपुगेको बताएका छन् । यद्यपि, प्रदेश सरकारबाट स्थिरताको आशा गरिएको उनले बताए । ‘यो सरकारले सबैको समर्थन प्राप्त गरेको छ,’ विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै नेता नेपालले भने, ‘अब कोशीमा राजनीतिक स्थिरताको आशा गरिएको छ ।’ उनले भने, ‘कोशीमा सर्वपक्षीय एवं सर्वदलीय सरकार बनाइदिएको भए राम्रो हुने थियो । आलोपालो सरकारको नेतृत्व गर्नसक्ने अवस्था पनि हुने थियो । तर, त्यसका लागि आवश्यक पहल हुन सकेन ।’ आफूले सहमतीय सरकार निर्माण लागि यसअघिका मुख्यमन्त्री हिक्तमकुमार कार्कीलाई पनि आग्रह गरेको उनको भनाइ छ । ‘स्थिर सरकार निर्माण गरेर ५ वर्षका लागि समाधान निकाल्न सकेको भए राम्रो हुने थियो,’ नेपालले भने, ‘तर, सबै कुरा भनेजस्तो हुँदो रहेनछ ।’ केन्द्रीय गठबन्धनको बैठक नबसेका कारण कोशी सरकारका बारेमा आधिकारिक धारणा बाहिर ल्याउन नसकेको उनले बताए । मुलुकको अवस्था कहालीलाग्दो रहेको उल्लेख गर्दै उनले युवाहरुको विदेश पलायन रोक्न र देशको आर्थिक अवस्थालाई सुधार गर्न गम्भीर छलफल आवश्यक रहेको बताए । ‘नीतिगत सुधार र कहाँ–कहाँ के गर्नुपर्ने हो त्यो गर्न हामी तयार छौं,’ नेपालले भने, ‘प्रधानमन्त्रीसँगको छलफलमा परिणाम देखिने गरी कामहरु देखिन पर्यो भनेर हामीले भनिसकेका छौं ।’ कसैले कसैलाई आरोप प्रत्यारोप गरेर नहुने उनको धारणा छ । रोजगारी सिर्जना गर्न र देशमा व्याप्त भ्रष्टाचार रोक्न तथा बन्द रहेका उद्योग कलकारखाना चलाउन सरकारले पहल गर्नुपर्ने नेपालले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार