कोपा डेल रे : कठिन जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा

विहीबार, २१ पुस २०७९
तेस्रो श्रेणीको सिएफ इन्टरसिटीमाथि अतिरिक्त समयमा रोमाञ्चक जित निकाल्दै क्याटलान क्लब बार्सिलोना स्पेनिस कोपा डेल रेको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । बार्सिलोनाले इन्टरसिटीलाई अतिरिक्त समयमा ४–३ ले पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो । बार्सिलोनाको जितमा रोनाल्ड एराउजो, औसमाने डेम्बेले, राफिन्हा र अन्सु फातीले गोल गरे । इन्टर सिटीका २१ वर्षीय आक्रमक मिडफिल्डर ओरिओल सोल्डेभिलाले ह्याट्रिक पूरा गरेपनि हार भने टार्न सकेनन्  । स्टेडियो जोश रिको पेरेज एलिकेन्ट स्पेनमा बुधबार राति भएको खेलमा बार्सिलोनाले बल पोसेसन राख्दै बलियो पकड बनाएपनि जितका लागि अतिरिक्त समय नै कुर्नुपरेको थियो । खेलको चौथो मिनेटमा एराउजोको गोलबाट बार्सिलोनाले अग्रता लिन सफल भएको थियो । दोस्रो हाफको ५९औं मिनेटमा ओरिओल सोल्डेभिलाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ६६औं मिनेटमा डेम्वेलेको गोलबाट बार्सिलोनाले पुनः खेलमा २–१ को अग्रता लियो । ७४औं मिनेटमा ओरिओल सोल्डेभिलाले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा फर्काए । ७७औं मिनेटमा राफिन्हाले गोल गर्दै पुन बार्सिलोनालाई ३–२ ले अघि बढाए । ८६औं मिनेटमा ओरिओल सोल्डेभिलाले ह्याट्रिक पूरा गरेपछि ३–३ गोलको बराबरी हुँदा खेल अतिरिक्त समयमा लम्बियो । अतिरिक्त समयको १३औं मिनेटमा अन्सु फातीले गोल गर्दै बार्सिलोनालाई खेलमा पुनः ४–३ को अग्रता बनाए । त्यसपछि थप गोल निस्कन नसक्दा बार्सिलोना विजयी भयो । बार्सिलोनासँग लगातार दवाव झेलेको इन्टरसिटीले काउन्टर अट्याकमा पाएको मौकालाई सदुपयोग गर्दै बार्सिलोनालाई बलियो चुनौती पेश गरेको थियो । इन्टर सिटी दोस्रो डिभिजनमा पनि रेलिगेसन क्षेत्रमा रहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार