कोशी प्रदेशमा  ‘पूर्वी स्टार’ गायन प्रतियोगिता हुँदै 

बुधबार, १३ मंसिर २०८०

भोजपुर/ गायन प्रतिभा हुनेहरूका लागि कोशी प्रदेशमा  ‘पूर्वी स्टार’ गायन प्रतियोगिता हुने भएको छ । नेपालमा सञ्चालन भइरहेका ठुला–ठुला गायन प्रतियोगिताको पहुँचमा नपुगेका प्रतिभाहरूको लागि प्रतियोगिता गरिने भएको हो । हाङ अनलाइन म्युजिक प्रालिले आज भोजपुरमा पत्रकार सम्मेलन गर्दै प्रतिस्पर्धीका लागि आवेदन समेत खुला गरेको जनाएको छ । मङ्सिर २५ गतेसम्म अनलाइन आवेदन लिएर पुस १ गतेबाट अडिसन सुरु गरिने पूर्वी स्टार’ गायन प्रतियोगिताका निर्देशक टिआर लिम्बुले जानकारी दिए। आयोजकका अनुसार प्रतियोगितामा तीन चरणका अडिसन सञ्चालन गरिने छ । पहिलो चरणको अडिसन अनलाइन मार्फत हुनेछ र अडिसनका लागि ह्वाटस्एपमा गीत गाएर भिडियो पठाउनु पर्ने छ । छनौट भएका सहभागीलाई सुनसरीको धरानमा प्रत्यक्ष सहभागितामा लाइभ राउन्ड गरिने छ । पूर्वी स्टारको विजेताले नगद चार लाखको साथमा सुनको सिक्री, ट्रफि, एउटा गीत रेकर्ड र प्रमाण पत्र पाउने छन् । दोस्रो हुनेले नगद एक लाख ५० हजारको साथमा ट्रफि, एउटा गीत रेकर्ड र प्रमाण पत्र र तेस्रो विजेताले नगद ५० हजार, ट्रफि, एउटा गीत रेकर्ड र प्रमाण पत्र पाउने छन् । तेस्रो चरण देखि प्रत्येक राउन्डका उत्कृष्टले एक÷एक थान गिटार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको निर्णायक मण्डलमा चर्चित गायिका सुनिता थेगिम, गायक तथा सङ्गीतकार खगेन्द्र याक्सो र गायक कुशल थुलुङ रहेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार