विराटनगरमा आगलागी हुँदा दुईजनाको मृत्यु

बुधबार, २० मंसिर २०८०
विराटनगर । विराटनगरमा बुधबार दिउँसो आगलागीमा परेर मृत्यु हुनेको संख्या २ पुगेको छ । प्रहरीका अनुसार एक जनाको उपचारका क्रममा र एक जनाको घटनास्थलमै मृत्यु भएको हो । आगलागीमा परेर विराटनगर–७ का ३२ वर्षीय दीपक मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । उनलाई गम्भीर घाइते अवस्थामा उद्धार गरेर उपचारका लागि न्युरो अस्पताल लगिएको थियो । उपचारकै क्रममा मृत्यु भएको हो । एक जनाको जलेर मृत्यु भएको अवस्थामा घटनास्थलमा शव फेला परेको छ । शवको पहिचान खुलेको छैन । उद्धारकर्ताहरुका अनुसार आगलागी भइरहेको गोदामभित्र आगोले जलिरहेको देखिन्थ्यो । तर, आगो नियन्त्रणमा समस्या भएपछि उद्धार गर्न नसक्दा जलेर त्यहीँ मृत्यु भएको हो । विराटनगर महानगरपालिका–७ सातघुम्तीमा रहेको कवाडी पसलमा बुधबार दिउँसो २ः१५ बजेतिर आगलागी सुरु भएको हो । आगलागीमा परेकामध्ये ५ जनालाई उद्धार गरेर उपचारका लागि लगिएको थियो । अन्य घाइतेमध्ये विराटनगर–६ की अन्दाजी ६० वर्षीया रीता सरदार, विराटनगर–६ की अन्दाजी ६५ वर्षीय सुशीला पासवान, मोरङको कटहरी गाउँपालिका–६ की अन्दाजी ३० वर्षीया पिंकी कामतको न्युरोमा र विराटनगर–६ का अन्दाजी ५८ वर्षीय किशोर कामतको कोसी अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार उपचाररतमध्ये रीता र सुशीलाको अवस्था गम्भीर छ । उनीको शरीरको ७५ प्रतिशतजति भाग जलेको प्रहरीको भनाइ छ । कवाडी गोदाममा लागेको आगो नियन्त्रणमा लिन समस्या भइरहेको छ । यद्यपि, विभिन्न ठाउँबाट आएका दमकल, स्थानीय, प्रहरी र सेनाको सक्रियतामा आगो नियन्त्रणको प्रयास जारी छ । आगलागीको कारण नखुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार