एभोकाडोले फल : कम लगानीमा उच्च आम्दानी

बुधबार, २७ मंसिर २०८०
टीका खतिवडा इलाम / सामाजिक सेवा र राजनीतिमा बडी समय बिताउने खगेन्द्र देवानले दर्जनौँ बोट एभोकाडो खेती गरेका छन् । कम समयमा नै राम्रो आम्दानी लिन सकिने भएपछि उनले यो खेती गरेका हुन् । नयाँ फलका रूपमा परिचित एभोकाडो पछिल्लो समय इलामका गाउँ गाउँमा समेत खेती विस्तार भएको छ । इलाम सुन्तलावारिमा देवानले खेती गरेका हुन् । सुन्तला बढी फलेकै कारण इलाम बजारसँगै जोडिएको अर्थात् इलाम बजार मुनीको गाउँलाई सुन्तला बारी भन्ने गरिन्छ । सुन्तलासँग पहिचान जोडिएको सो गाउँमा हाल एभोकाडोको पहिचानले कब्जा जमाउन थालेको छ । अर्थात् भनौँ हाल सुन्तला मासिएको छ । तर एभोकाडोको बिस्तार बढेको छ । सुन्तला धेरै फलेकै कारण सो गाउँको नाम सुन्तला बारी रहेको रह्यो । तर पछिल्लो समय सुन्तला फल्न छोडेका कारण यस ठाउँमा एभोकाडो फल खेती विस्तार भएको हो । सुन्तला कम फल्न थालेपछि यहाँ नयाँ फल लगाइएको हो । यहाँका किसानले सुन्तलाको बगान मासेर नै गाउँमा एभोकाडो खेती विस्तार गर्न थालेका छन् । सो फलबाट किसानले मनग्ये आयआर्जन समेत गर्न थालेको स्वयम किसानहरूको भनाई छ । हाल सो गाउँलाई एभोकाडोको गाउँ समेत भनिने गरिन्छ । बाटो आसपास राम्रोसँग फलेको एभोकाडो नियाल्दै बाटो हिँड्नेहरूले समेत सो फलप्रति आकर्षण बढेको बताउने गरेका छन् । सुन्तला बारी गाउँलाई हाल एभोकाडोको गाउँमा रूपमा परिणत गरेको स्वयम किसान बताउँछन् । सानो गाउँ, थोरै किसान तर पनि लटरम्म फलेको फलले मन लोभ्याउने गरेको छ । स्वर्गीय नेता सुवासचन्द्र  नेम्वाङको जन्म स्थल पनि हो । उनको बारीमा समेत उत्तिकै  फल फलेको छ । यो फलमा कम मेहनत पर्ने उनीहरू बताउँछन् । समाजसेवा तथा राजनीतिमा लाग्ने मानिसको दैनिकी निकै व्यस्त हुन्छ । तर पनि समय निकालेर सो खेती गर्न सकिने उदाहरण हुन् देवान पनि । उनले एकै बोटबाट २५ हजार सम्म आम्दानी गर्ने गरेको बताए । कम स्याहारले नै उच्चतम आम्दानी लिन सकिने उनले बताए । नेपाली काँग्रेस इलामका सचिव समेत रहेका उनी समय मिलाएरै स्याहार गर्दा समेत सो फलबाट राम्रो आम्दानी गर्न सकिने बताउन् । केही वर्ष अगाडी सम्म लटरम्म सुन्तला फल्ने सुन्तला बारी गाउँमा अहिले एभोकाडोका बोट प्रशस्तै छन् । इलामको यो ठाउँमा एभोकाडो खेती एकदमै फस्टाएको छ । एभोकाडो कात्तिक मङ्सिरमा नै पाक्ने भएकाले यसको बजार राम्रो भएको किसानहरू बताउँछन् । दिर्घरोगीले समेत खान मिल्ने एभोकाडो फल लटरम्म फलेपछि एउटै बोटबाट राम्रो आम्दानी गर्न सकिने बताइएको छ । सुरुमा तीन सय रुपैयाँ किलो बिक्ने एभोकाडोको बजार भाउ पनि तलमाथि भइरहन्छ । इलाम बजारमा हाल दुई सय प्रतिकिलो यसको खरिद बिक्री भइरहेको छ । दिउसो अन्यत्रै काम गरेर भए पनि बिहान बेलुकाको समय निकालेर खेती गर्न सकिने यो फल यस सिजनमा मुख्य उत्पादन लिने सकिन्छ । हाल इलाममा उत्पादित एभोकाडो इलामको स्थानीय बजार तथा झापा तथा सुनसरीमा बिक्री भइरहेको किसान तथा निजामती कर्मचारी कृष्ण लिम्बुले बताए । उनका अनुसार हाल इलाम सहित, झापा, सुनसरी काठमाडौँ लगायतका स्थानमा यसको बिक्री भइरहेको छ । सुरुमा धनकुटाबाट ल्याएर रोप्न सुरु भएको एभोकाडो पछिल्लो समय प्राय जिल्लाभर नै खेती विस्तार भइरहेको छ । कुनै लामो त कुनै डल्लो आकारको हुने एभोकाडो धेरै प्रजातिका हुने गरेका छन् । यसकै कुनै फल स्वादिष्ट त कुनै खास स्वाद नहुने गरेको उपभोक्ताहरूको भनाई छ । सुरुसुरुमा यसको स्वाद पाउन नसकिने स्वयम् उपभोक्ताको भनाई छ । सामान्य तथा खाँदै गएपछि मिठो लाग्न थाल्ने गर्दछ । यसमा प्रोटिन समेत उच्च पाइने भएकाले धेर समेत खान नहुने बताइएको छ । दानाबाट यसको उत्पादन लिन सकिन्छ । रुखमा फल्ने यसको फल सामान्यतया दुई सय ग्राम देखी एक किलोसम्मको हुने गर्दछ । भित्र दानो बिचमा खानयोग्य फल र बाहिर बोक्राले ढाकेको हुन्छ । भित्री भागमा हुने दानो पुन बेर्ना उमार्न काम लाग्दछ । उम्रिएको बेर्ना एक वर्ष पछि रोप्न मिल्ने गर्दछ । रोपिएको बिरुवाबाट तीन वर्ष पछि देखी फल उत्पादन हुन्छ । यसको व्यावसायिक खेती गर्ने किसानहरू समेत थपिँदै गएका छन् । सरकारी निकायबाट यसको पहिचान र थप बजारीकरणमा समेत सहयोग गर्न सके किसानलाई अझ राहत मिल्ने थियो ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार