नागरिकले कृषि उत्पादन, रोजगारी र सीप खोजेका छन्– वरिष्ठ उपाध्यक्ष पोखरेल

सोमबार, ०२ पुस २०८०
झापा । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा एमालेले सुरु गरेको ‘झुलाघाट–चिवाभञ्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’का क्रममा नागरिकले कृषि उत्पादन, रोजगारी कुरा र सीपलाई व्यापक खोजी गरेको पाइएको बताएका छन् । प्रेस चौतारी नेपाल झापाले आज बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीले सुरु गरेको सङ्कल्प यात्राको क्रममा पहाडी क्षेत्रबाट वैदेशिक धेरैजसो युवा रोजगारीका लागि विदेश जाने र भएकाहरुपनि पहाड छाड्ने प्रवृत्ति धेरै पाइएकाले त्यसलाई रोक्न जरुरी रहेको बताएका छन् । त्यसलाई रोक्नका लागि कृषि उत्पादन, रोजगारी र सीपको सदुपयोग गराउन तत्काल आवश्यक रहेको बताए । नेकपा एमालेले मात्रै यस्तो कार्य गर्न नसक्ने भएकाले सरकारले नै त्यस खाले कार्य गर्नु पर्ने उनको सुझाव थियो । पहाडी क्षेत्रमा नागरिकको बसोबास घटेको प्रति चिन्ता व्यक्त गर्दै पोखरेलले भने – विकास पुग्यो तर, पहाडमा बसोबास गर्ने मानिस कम हुँदै गएका छन् । त्यसलाई रोक्न रोजगारी, सीप र कृषि उत्पादनमा जोड दिनु पर्छ । एक फरक प्रसङ्गमा कुरा गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले यात्राका क्रममा पूर्वमा पहिचानवादीहरूको हिंसात्मक क्रियाकलाप देखिएको र त्यसलाई कदापि स्वीकार गर्न नसकिने बताए । उनले भने – ‘संविधानसम्मत सबै कुरा राख्न पाइन्छ , विमति जनाउन पाइन्छ , विरोध गर्न पाइन्छ तर, त्योभन्दा फरक रहेर हिंसालाई प्रोत्साहन गर्ने क्रियाकलाप स्वीकार्य हुँदैन ।’ पहिचानवादीहरूले गरेको हिंसाको प्रतिहिंसाले जवाफ नदिने भन्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले आफूहरूले शान्तिपूर्ण रूपले जनतामाझ कुरा राखेको बताए । उनले पहिचानवादीहरूलाई मारकाटमा उत्रिएर समाधान नखोज्न चेतावनी दिँदै मारकाटबाट समाधान किमार्थ सम्भव नहुने स्पष्ट पारे । उनले प्रक्रियाबाट टुंगिसकेको प्रदेशको नामकरणको सवालमा वितण्डा नमच्चाई चित्त नबुझे विधिसम्मत , शान्तिपूर्ण ढङ्गले समाधान खोज्न आग्रह गरे । यसअघि एमालेले पूर्व मुख्यमन्त्री हिकमतकुमार कार्कीको संयोजकत्वमा वार्ता समिति गठन गरिसकेको स्मरण गराउँदै वार्ता संवाद नै अन्तिम विकल्प भएको समेत बताए । देश बनाउनु भन्ने सोच राखेर नेकपा ९एमाले०ले सङ्कल्प यात्रा सुरु गरेको र यात्राका क्रममा नागरिकको उत्साहजनक सहभागिता रहेको उनको भनाई छ । प्रेस चौतारी नेपाल झापाका अध्यक्ष मनकुमार गदालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव प्रदीप परियारले गरेका थिए ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार