विराटनगर । नेपाल निजामती कर्मचारी संगठन मोरङले वनभोज कार्यक्रमको आयोजना गरेर शनिबार सेवानिवृत्त (अवकाश प्राप्त) कर्मचारीलाई सम्मान गरेको छ ।
मोरङको कटहरीस्थित गोपाल फन पार्कमा आयोजित वनभोज कार्यक्रमको अवसरमा अवकाश प्राप्त १४ जना कर्मचारीलाई सम्मान गरिएको हो । लामो समयदेखि सरकारी सेवामा रहेर महत्वपूर्ण भूमिका निर्वाह गर्दै सेवनिवृत्त भएका कर्मचारीलाई नेपाल निजामती कर्मचारी संगठन र राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाद्वारा आयोजित वनभोजमा सम्मान गरिएको थियो ।
संगठनका मोरङ अध्यक्ष ओमराज सुवेदीले सेवनिवृत्त कर्मचारीहरु राजु अधिकारी, गणेशबहादुर कार्की, रुद्र फुयाँल, लेखहरि भट्टराई, उमा शर्मा तिवारी, डेगप्रसाद दाहाल, कपिल पौडेल, विनोद उपाध्याय, विनोद श्रेष्ठ, रवि खनाल, शम्भु भण्डारी, केदार अधिकारी, गेहराज पोखरेल र हेम खतिवडालाई सम्मान गरिएको जानकारी दिए । सेवनिवृत्त कर्मचारीलाई नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय महासचिव जीवन काफ्ले, संघीय सांसद तथा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोख्रेल, नेकपा ९एमाले०का नेता विनोद ढकाललगायतले खादा लगाएर सम्मानपत्र प्रदान गरेका थिए ।
संगठनका केन्द्रीय महासचिव काफ्लेले नेपाल निजामती कर्मचारी संगठनको संरक्षणमा रहेका राष्ट्रसेवक सहकारीहरुले देशभरमा ३ अर्बभन्दा बढीको कारोबार गरिरहेको जानकारी दिए । नेपाल निजामती कर्मचारी संगठनले सधैं कर्मचारीको हकहितमा काम गरिरहेको उनको भनाइ छ ।
प्रतिनिधिसभा सदस्य तथा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोख्रेलले मुलुकलाई राजनीतिक स्थिरतातर्फ लैजान नागरिकले जिम्मेवार भएर भूमिका खेल्नुपर्ने बताए । देशमा सुशासन कायम गराउन कर्मचारीको महत्वपूर्ण भूमिका हुने उनले बताए ।
संगठनले सेवानिवृत्त कर्मचारीलाई प्रत्येक वर्ष सम्मान गर्दै आएको संगठनका मोरङ अध्यक्ष सुवेदीले बताए । उनका अनुसार आगामी दिनमा पनि सम्मान कार्यक्रमलाई निरन्तरता दिइने छ ।
नेपाल निजामती कर्मचारी संगठन मोरङका सचिव शालीग्राम कोइरालाका अनुसार संगठनले प्रत्येक वर्ष कर्मचारी सम्मिलित वनभोज कार्यक्रमसहित विभिन्न गतिविधि गर्दै आएको बताए । कर्मचारी संगठनको वनभोज कार्यक्रममा सम्मानसँगै खेलकुदलगायतका विभिन्न अतिरिक्त क्रियाकलाप पनि सञ्चालन गरिएको थियो ।
प्रतिक्रिया