भोजपुरमा ३० वर्षअघिको राजधन हत्या प्रकरण : एकैदिन पाँच जना अभियुक्त पक्राउ

सोमबार, २३ पुस २०८०
भोजपुर । देउसीमा दिएको दान–पैसाको विषयमा विवाद हुँदा ३० वर्षअघि भोजपुरको साविकको कोट गाविसका राजधन राईको हत्या भयो । विक्रम संवत २०५० साल मंसिर ३ गते एउटा समूहले खुकुरी प्रहार र आक्रमण गरेर राजधनको हत्या गरेको थियो । उनलाई साविकको खावा गाविसका शुक्रदेव राईले खुकुरी प्रहार गरेको र अन्य अभियुक्तहरुले कुटपिट गरेको पुष्टि अनुसन्धानबाट भइसकेको छ । राजधनको हत्यामा संलग्नहरु भोजपुर अदालतबाट दोषी ठहर भइसकेका छन् । अभियुक्तविरुद्ध चलाइएको कर्तव्य ज्यान मुद्दामा २०६१ भदौ २८ गते फैसला गर्दै अदालतले मुख्य प्रतिवादी शुक्रदेवलाई २० वर्ष र घटनाका मतियारहरुलाई जनही ३ वर्ष कैद सजाय हुने फैसला गरेको थियो । तर, ३० वर्षसम्म अभियुक्तहरु पक्राउ परेका थिएनन् । विभिन्न ठाउँमा पुगेर लुकिछिपी बसिरहेका थिए । प्रहरीको सक्रियतासँगै धमाधम अभियुक्त पक्राउ पर्न थालेका छन् । जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी लिएर भोजपुर पुगेका डीएसपी सुदीपराज पाठकले घटनाको ३० वर्षपछि राजधन हत्या प्रकरणको फाइल खोले । त्यसपछि विभिन्न ठाउँमा लुकेर बसेका प्रतिवादी पक्राउ परिरहेका छन् । पछिल्लो समय यो घटनामा संलग्नमध्ये पाँच जनालाई प्रहरीले एकैदिन पक्राउ गरेको छ । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ खावाका ५० वर्षीय कृपाराज राई, ४२ वर्षीय मणि भनिने थीरकुमार राई, ५५ वर्षीय विदुरकुमार राई, ५४ वर्षीय भीमराज राई र ४६ वर्षीय नइन्द्र भनिने नगेन्द्रकुमार राईलाई पक्राउ गरिएको डीएसपी पाठकले बताए । उनका अनुसार विभिन्न जिल्लाबाट पक्राउ गरेर उनीहरुलाई आइतबार राति भोजपुर ल्याइपुर्याइएको हो । कृपाराजलाई ललितपुरको सुनाकोठीबाट, थीरकुमारलाई सातदोबाटोबाट र विदुरकुमारलाई उदयपुरको बेलकाबाट, भीमराजलाई रामपुर ठोक्सिलाबाट तथा नगेन्द्रलाई सुनसरीको धरानबाट पक्राउ गरिएको जानकारी पाठकले दिए । पक्राउ परेकाहरुलाई राजधन हत्या प्रकरणको मतियारका रूपमा भोजपुर अदालतले दोषी ठहर गरिसकेको छ । अदालतले उनीहरुलाई जनही ३ वर्ष कैदको फैसला गरेपनि सजाय भुक्तान नगरिकन फरार बनेका थिए । पछिल्लो समय खोजी तीव्र पारेर उनीहरुलाई पक्राउ गर्न प्रहरी सफल भएको हो । डीएसपी पाठक जिल्ला छाडेर विभिन्न स्थानमा लुकिछिपी जीविकोपार्जन गर्दै आएको विशेष सूचनाका आधारमा खोजी सुरु गर्दा एकैदिन पाँच जनालाई पक्राउ गर्न प्रहरी सफल भएको बताउँछन् । पक्राउ परेकालाई भोजपुर पुर्याएर प्रहरीले सोमबार अदालत बुझाएको छ । अदाललले पाँचै जनालाई कैद सजाय भुक्तानका लागि कारागार चलान गरेको छ । २०५० कात्तिक २८ गते लक्ष्मी पूजाको दिन २६ जनाको समूह देउसी खेल्दै राजधनको घर पुगेको थियो । मादक पदार्थ सेवन (मापसे) गरेर पुगेको समूहले देउसी खेल्दा भेटी कम दिएको भन्दै मृतक राजधनका दाजु बागधन राईसँग विवाद गरेको थियो । उत्कर्षमा पुगेको विवाद सबैको प्रयासले तत्काललाई साम्य भयो । तर, त्यसैलाई मिलाउन भन्दै मंसिर ३ गते बोलाइएको पञ्चेतीमा झगडा हुँदा राजधनको हत्या भयो । घटनामा संलग्नमध्ये टेम्केमैयुङ–५ खावाकै ४६ वर्षीय पूर्णहाङ राईलाई प्रहरीले यही पुस १४ गते ललितपुरको भैंसेपाटीबाट पक्राउ गरेको थियो । पूर्णहाङ पनि घटनाको मतियारका रूपमा दोषी ठहर भइसकेका अभियुक्त हुन् । उनी प्रहरी फन्दामा परेसँगै अरु पाँच जना अभियुक्त पनि पक्राउ परे । राजधनको हत्यामा संलग्नमध्ये हालसम्म ६ जनालाई पक्राउ गरिसकिएको डीएसपी पाठकले बताए । ‘अदालतबाट दोषी ठहर भएका अन्य केही व्यक्ति अझैसम्म फरार छन्,’ उनले भने, ‘खोजी गरेर उनीहरुलाई पक्राउ गर्न विशेष टोली परिचालन गरिएको छ ।’ उनका अनुसार घटनापछि भागेर भारत पुगेका मुख्य प्रतिवादी शुक्रदेव राईको लुकिछिपी बसेको अवस्थामा उतै मृत्यु भइसकेको जानकारी आएको छ । तर, यस विषयमा अनुसन्धान गरेर उनको मृत्यु भएको हो वा हैनभन्ने यकिन गर्ने प्रयास भइरहेको पाठकको भनाइ छ । शुक्रदेवलाई २० वर्ष कैदको फैसला भएपनि उनले सजाय भुक्तान गरेको देखिँदैन । पक्राउ पर्न बाँकी रहेका अन्य अभियुक्तको खोजी तीव्र पारिएको डीएसपी पाठकले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार