इलामकै कुरा गर्ने हो भने जिल्ला स्थित पाँच वटा गुट रहेको सो पार्टी निकटहरूको भनाई छ । पाँच जना नेताको ‘सिन्डिकेट’को कारण काँग्रेस थप कमजोर भएको कार्यकर्ताको निष्कर्ष सहित समेत छ ।नेपाली काँग्रेसका नेता, कार्यकर्ताको भेलाले इलामको निर्वाचन क्षेत्र न १ बाट स्थानीय स्तरमा योग्य र रूपान्तरित नेतृत्व निर्माण अभियान सुरु गरेका छन् । भेलाले स्थानीय तहका कार्यकर्तासङको संवादलाई प्रभावकारी रूपमा अघि बढाउने तयारी गरेको अभियानका संयोजक भीष्म प्रधानले जानकारी दिए । भेलाले अभियानको क्रममा बहसका लागि अवधारणा पत्र समेत पारित गरेको छ । पूर्वी इलाममा उपलब्ध महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्ला, क्षेत्र, प्रदेश, पालिका देखि वडा सम्मका पदाधिकारी, सदस्य, भातृ, भगिनी, शुभेच्छुक सङ्घका पदाधिकारीको भेलाले अभियानका क्रममा बहसका लागि १४ बुँदा समेत स्वीकृत गरेको छ । नेपाली काङ्ग्रेस इलाम क्षेत्र न १ का पूर्व क्षेत्रीय सभापति भीष्म प्रधानको अध्यक्षता, नेपाली काङ्ग्रेसका जिल्ला सदस्य एवं सूर्योदय नगरपालिकाका उपप्रमुख दुर्गा बराल सहितको उपस्थितिमा सम्पन्न भेलाले क्षेत्रगत रूपमा इलाम क्षेत्र न १ का नेता कार्यकर्ता उपेक्षामा परेकाले स्थानीय, योग्य र रूपान्तरित नेतृत्व निर्माणका लागि टोल सम्म अभियान पु¥याउने निर्णय गरिएको छ ।
अभियानले पारित गरेका अवधारणा पत्रमा भनिएको छ ‘नागरिकले चाहे जस्तो नेता र नेतृत्व दिन काँग्रेस किन चुकेको होला ? स्थानीय कार्यकर्तालाई प्रवर्द्धन गर्न नेपाली काँग्रेस किन अनुदार देखिएको, जनजीविकाको सवालमा नेपाली काँग्रेसले निर्माण गर्ने खाका कस्तो हुनुपर्छ भन्ने आम सवालमा अब नेपाली काँग्रेस भित्र वृहत् बहस जरुरी छ भन्ने महसुस गरेर यो अभियानको थालनी गरिएको हो ।’देशमा नेपाली काँग्रेस सहितको सरकार छ । सात प्रदेश र स्थानीय तहमा कुनै न कुनै रूपमा नेपाली काँग्रेसको उपस्थिति भए पनि नागरिकले गणतन्त्रको अनुभूति गर्न नपाइरहेको अवधारणा पत्रमा उल्लेख छ । संविधानको प्रतिफल आम नागरिकसम्म पुग्न सकेको छैन । तीनै तहको सरकार रणनीति र कार्यनीतिमा चुकी रहेको छ । यसलाई सुधार गर्न नेपाली काङ्ग्रेसले अब अर्को मौका छैन भनेर हस्तक्षेपकारी रूपमा काम गर्नु आवश्यक रहेको बताइएको छ । शैली बदल्न आवश्यक रहेको संयोजक प्रधानको भनाई छ । अभियानले नेताका दास कार्यकर्ताको ठाउँमा सामूहिक निर्णयमा विश्वास गर्ने कार्यकर्ता निर्माणमा जोड दिने नेता बरालले बताए । अभियानले मुलुकमा विद्यमान एकदलीय निरङ्कुशता, जनवादी केन्द्रीयता लागू गर्न चाहने र लोकतन्त्रको जग समेत सङ्कटमा पर्ने अवस्था आएकाले त्यसको अन्त्यका निम्ति काम गर्ने बताइएको छ । अभियानका संयोजक भीष्म प्रधानले यस्तो अवस्थामा गाउँ देखि केन्द्र सम्मको नेतृत्वले परम्परागत कार्यशैली परिवर्तन गर्न आवश्यक रहेको बताए ।
प्रतिक्रिया