विराटनगर । कृषि उपजमा उत्पादनमा कृषकलाई पूर्णरूपमा अनुदान व्यवस्था नभएसम्म नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न नसक्ने सरोकारवालाले बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा तरकारी उत्पादक र व्यवसायीहरूबीच व्यापारिक सम्बन्ध स्थापनाका लागि बुधबार भएको छलफलका सहभागीले कृषकलाई अनुदान दिनुपर्नेमा जोड दिएका हुन् ।
मोरङको बुढीगंगा, मुडेरीमा सम्पन्न कार्यक्रममा तेजस्वी कृषि तथा च्याउ उद्योग सञ्चालक दीनेश सापकोटाले कृषि उपजमा उत्पादनमा कृषकलाई पूर्णरूपमा अनुदान व्यवस्था नभएसम्म नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न नसक्ने बताए ।
कृषकहरूले अझै पनि बिउ, मलखाददेखि बजारीकरणमा समेत समस्या भोगिरहेको भन्दै उनले कृषि क्षेत्रको विकासका लागि वास्तविक कृषकको क्षमता विकासमा जोड दिनुपर्ने बताए ।
तरकारी व्यवसायी राजेश यादवले तरकारीको मूल्य शृंखलामा कृषकहरुले बजारको मागअनुसार आपूर्ति गर्न नसकेको र गुणस्तरमा समेत समस्या रहेको बताए ।
कृषक विश्व पराजुलीले कृषि फार्मको अवधारणासहित नवीनतम सोचले यस क्षेत्रमा जोडिन चाहने युवाहरूको लागि राज्यले खेतीयोग्य जग्गा उपलब्धताको लागि लागि सहजीकरण गरिदिनु पर्ने बताए ।
आलु काउली उत्पादन गरेर विराटनगरका हटिया बजारमा बिक्री वितरण गर्दै आइरहेको बताएकी स्थानीय सुशीला चौधरीले आयातित तरकारीले गर्दा नेपाली किसानले उचित मूल्य पाउन नसकेको भनाइ राखिन् ।
महासंघ कोशी प्रदेशका प्रशासकीय अधिकृत संजोग शिवाकोटीले कृषि क्षेत्रको व्यवसायीकरणको लागि महासंघले सञ्चालन गरेका विभिन्न कार्यक्रमहरूको बारेमा जानकारी गराएका थिए ।
प्रतिक्रिया