इलाम / छोराको स्मृतिमा माई नगरपालिकाका शिक्षक दम्पतीले विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । माई नगरपालिका –२ निवासी सेवा निवृत्त शिक्षक दम्पती घनेन्द्र कार्की र राधिका कार्कीले स्वर्गीय छोरा सुवर्ण कार्कीको स्मृतिमा पाँच लाखको अक्षयकोषको स्थापना गरेका हुन् ।
कनकाई माध्यमिक विद्यालय माई नगरपालिका–२ को ६३ औँ वार्षिक समारोहको अवसरमा कार्की दम्पतीले कक्षा ८ देखी कक्षा ११ सम्मका उत्कृष्ट छात्र छात्रालाई वार्षिक नगद सम्मान गर्ने गरी सो अक्षयकोष स्थापना गरेको बताइएको छ । शिक्षक दम्पतीका छोरा इन्जिनियर रहेको बताइएको छ ।
कार्की दम्पतीले उक्त रकमको चेक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुमाया आचार्य र प्रधानाध्यापक हरिप्रसाद पौड्याललाई हस्तान्तरण गरेका छन् ।
स्वर्गीय सुवर्ण कार्कीले माध्यमिक शिक्षा सोही विद्यालयबाट लिएका थिए । पछि इन्जिनियरको सेवामा रहँदा रहँदै ब्रेन ट्युमरका कारण २०७६ मा स्वर्गारोहण भएको थियो ।
कनकाई माविमा पूर्व प्रधानाध्यापक पदमबहादुर घिमिरेले आफ्ना बुवा आमाको नाममा खडा गरिएको एक लाख ५० हजारकोको ब्याजबाट कक्षा–११ र १२ का दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको छ।
त्यस्तै समाजसेवी कृष्ण खाकीले आफ्ना बुवा आमाको नाममा स्थापना गरेको १ लाख बराबरको अक्षयकोषबाट समेत बुवा आमा विहीन दुई जना विद्यार्थी लाई छात्रवृत्ति प्रदान गरिएको छ।
प्रतिक्रिया