पूर्वी पहाडी जिल्लाहरूमा हिउँ झर्‍यो

बुधबार, ०३ माघ २०८०
इलाम माघ : जिल्लाका उच्च पहाडी क्षेत्रहरूमा बाक्लो हिमपात भएको छ । केही क्षेत्रमा वर्षासँगै हिमपात भएको हो । जिल्लाका उच्च पहाडी पर्यटकीय स्थल सन्दकपुर गाउँपालिका, माईजोगमाई गाउँपालिका, सूर्योदय नगरपालिका तथा देउमाई नगरपालिकाको माथिल्ला क्षेत्रहरूमा मङ्गलवार देखी नै हिउँ पर्न थालेको हो । सन्दकपुर कोसी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य मानिन्छ । हिउँ परेपछि यस क्षेत्रमा अझ पर्यटकहरू बढेको स्थानीयको भनाई छ । देउमाई नगरपालिकाको राँके, लगायतका क्षेत्रमा पर्ने सडकमा  हिउँ झरेपछी सवारी सञ्चालन गर्न समेत समस्या भएको बताइएको छ । बाहिरबाट जाने पर्यटकले हिउँ खेलेर रमाइलो गरे पनि स्थानीयलाई भने सास्ती भएको छ । मेघमा, तुम्लिङ्ग, जौवारि, गैरी बास, फालुट लगायतका क्षेत्रमा समेत हिउँ परेको छ । भारतसँग सीमा जोडिएको सन्दकपुर गाउँपालिकाको सन्दकपुर जौवारि लगायतका क्षेत्रमा भारतबाट समेत पर्यटकहरू आउने गरेको बताइएको छ । सन्दकपुर जिल्लाकै अग्लो स्थान पनि हो । यसको उचाइ ३६ सय ३६ मिटर रहेको छ । हिउँ परेर चिसो बढेसँगै सो क्षेत्रको जनजीवन प्रभावित बनेको छ । बुढापाका तथा बालबालिकालाई समस्या भए पनि युवाहरू हिउँमा नै रमाउने गरेका छन् । दीर्घ रोगी र गोठमा नै बस्नेहरूलाई अझै समस्या पर्ने गरेको छ । घर बाहिरको काम गर्न समस्या भएको स्थानीय लाक्पा शेर्पाले बताए । तर किसानलाई भने हिउँले राहत मिल्ने बताइएको छ । सुख्खा रहेको जमिन हिउँले लामो समय चिस्यान गराउने किसानहरूको भनाई छ । हिउँदका दिनमा पनि आक्कल झुक्कल हिउँ पर्ने भएपछि हिउँसँग रमाउनेहरु समेत उत्तिकै भेटिन्छन् । गएको वर्ष खासै हिउँ नगरेको क्षेत्रहरूमा यस पटक परेको हिउँ तेस्रो पटक भएको बताइएको छ । यस अघि मंसिर अन्तिम र पुस मध्य तीर समेत हिउँ परेको थियो । इलामका उच्च पहाडी क्षेत्र लगायत पाँचथर ताप्लेजुङका उच्च पहाडी क्षेत्रहरूमा समेत हिउँ परेको छ । हिउँ खेल्नका लागि जाने पर्यटकहरूकै कारण सो क्षेत्रका होटलहरु समेत भरिभराउ हुने गरेका छन् । आगो ताप्न र चिसोको मज्जा लिन समेत पर्यटकहरू पुग्ने गरेका छन् । हिउँपरकसँगै चिसो बढ्ने भएपछि सतर्क रहन चिकित्सकहरूले सुझाव दिने गरेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार