विराटनगर । नेपाल प्रहरीका डिआइजी चन्द्र कुवेर खापुङले कोसी प्रदेश प्रहरी प्रमुखको रूपमा बुधवार प्रदेश प्रहरी कार्यालयमा हाजिर भएर पदभार ग्रहण गरेका छन् ।
डिआइजी राजेशनाथ बास्तोलाको सरुवा भएपछि खापुङ कोसी प्रदेशको प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्न आइपुगेका हुन् ।
खापुङ यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत थिए ।
नेपाल सरकार गृह मन्त्रालयको यही पुस २४ गतेको निर्णय अनुसार उनको प्रदेश प्रहरी कार्यालय कोसीमा सरुवा भएको हो ।
कार्यभार सम्हाल्दै खापुङले प्रहरी कर्मचारीलाई निर्देशनसमेत दिएका छन् ।
प्रहरीले आचरण र व्यवहारमा सुधार ल्याई कानुनको परिधिमा रहेर पदीय जिम्मेवारी वहन गर्नुपर्ने उनले बताए । उनले समाजमा शान्ति सुरक्षा कायम राख्न र नागरिकमैत्री सेवा प्रदान गर्न प्रहरीलाई निर्देशनसमेत दिए ।
डिआइजी खापुङको पदभार ग्रहण कार्यक्रममा प्रदेश प्रहरी तालिम केन्द्रका एसएसपी राजन अधिकारी, एसएसपी जयराज सापकोटालगायत प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी अधिकारी, मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेल, झापाका एसपी दुर्गाराज रेग्मीलगायतका सिनियर प्रहरी अधिकारीहरूको उपस्थिति थियो ।
प्रतिक्रिया